
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरीको पक्राउ प्रकरणमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भोलि (मंगलबार) सम्म प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । ‘भोलिकै दिनमा प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यूले जवाफ दिनु भएन भने हामी सरकार छोड्न बाध्य हुन्छौं,’ सांसद चौधरीले संसदमा भने ।
नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी दल हो र हाल उक्त पार्टीबाट एक जना नेता राज्यमन्त्रीको रुपमा सरकारमा रहेका छन् । सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत अधिकृत महिमानसिंह विष्टको पत्रका आधारमा यही वैशाख १७ गते रेशम चौधरीलाई कमलादीबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ शैलीप्रति आक्रोश व्यक्त गर्दै सांसद चौधरीले रेशमलाई अपहरण शैलीमा समातेर एकाएक डिल्लीबजार कारागार पुर्याइएको आरोप लगाए ।
रेशम चौधरीका पिता समेत रहेका सांसद चौधरीले सो पत्र फर्जी भएको दाबी गर्दै, केही घण्टामै रेशमलाई छाडिनु त्यसको प्रमाण भएको बताए । उक्त दिन जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा गर्ने तयारी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्