images
images
  • प्रधानमन्त्री शरीफको कडा चेतावनी; भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौं : पाकिस्तान

    काठमाडौं । भारत र पाकिस्तानबीचको द्वन्द्व फेरि चुलिएको छ । जम्मु-कश्मीरको पहलगाममा पर्यटकहरूलाई लक्षित गर्दै भएको आतङ्कवादी आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका नौ स्थानमा एकसाथ हवाई आक्रमण गरेको छ ।

    ‘अपरेशन सिन्दूर’ नाम दिइएको यो हवाई कारबाही मंगलबार राति करिब १:३० बजे पाकिस्तानका बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबाद लगायतका क्षेत्रहरूमा गरिएको थियो । भारतले आतंकवादी अड्डाहरूलाई लक्षित गरी २४ वटा क्षेप्यास्त्र प्रहार गरेको पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बताएका छन् ।

    भारतको आक्रमणपछि पाकिस्तानका विभिन्न स्थानहरूमा दर्जनौं व्यक्तिहरूको मृत्यु भएको छ । केही समाचार संस्थाहरूले सय जनाभन्दा बढीको मृत्यु भएको दाबी गरे पनि आधिकारिक रूपमा अहिलेसम्म करिब ३० जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ। मृतकमध्ये एक ३ वर्षीय बालकसमेत रहेको बताइएको छ ।

    प्रधानमन्त्री शरीफको कडा चेतावनी
    भारतको कारबाहीप्रति पाकिस्तानले कडा प्रतिक्रिया जनाएको छ । प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमार्फत आक्रमणलाई ‘कायरतापूर्ण’ भन्दै त्यसको जवाफमा पाकिस्तानले कठोर कदम चाल्ने चेतावनी दिएका छन् । उनले भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र त्यसअनुसार तयारी भइरहेको छ ।’

    दोस्रोपट्टि, भारतीय रक्षा मन्त्रालयले आफ्नो आक्रमण आतंकवादी पूर्वाधारमाथिको लक्षित कारबाही मात्र भएको दाबी गरेको छ । पाकिस्तानको कुनै पनि सैन्य आधार शिविरलाई लक्षित नगरिएको र यो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक’ भएको बताइएको छ। भारतीय सेनाले आक्रमणपछि वक्तव्य जारी गर्दै ‘न्याय भएको छ’ भनेर प्रतिक्रिया दिएको छ ।

    सीमा क्षेत्रमा भारतीय आक्रमणपछि तनाव चुलिएको छ । पाकिस्तानका विभिन्न सहरहरूमा सुरक्षाका कारण विद्यालय र विश्वविद्यालयहरू बन्द गरिएका छन् भने परीक्षा पनि स्थगित गरिएको छ । पाकिस्तानको सेनाले ‘हवाई र जमिनी’ दुवै प्रकारको जवाफी कारबाही गर्ने चेतावनी दिइसकेको छ, जसले गर्दा दुई परमाणु शक्तिबीचको तनाव अब युद्धतिर मोडिने आशंका अन्तर्राष्ट्रिय स्तरमा बढेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै