
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् ।
संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रवार अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारेका हुन् ।
विगतका वर्षहरूमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उनले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आएपनि अन्य समयमा सामान्य हुने बताए । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गरे ।
समस्या आइसकेपछि कराउने नभई समयमै सुधार्नुपर्ने उनको भनाइ छ । समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागिपरेको उनको भनाई थियो । प्राविधिक समस्याले विद्युत आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिँजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आफूले जानेका सबै कुरा गर्ने स्पष्ट पारे ।
उनले भने ‘पश्चिमको लाइन ट्रिप भएका कारणले करिब २ घण्टा विद्युत प्रसारण अवरोध भएको हो । करिब ८ बजेमात्र ढल्केबर–मजफरपुर प्रशारणलाईन नियमित भएसँगै विद्युत आपूर्ति सहज भयो । त्यसैले ढल्केबर–मजफरपुर लाइन कति महत्वपूर्ण छ भन्नेकुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ । हामी भारतसँग निर्भर छौं भन्नु राम्रो त होइन तर यो तीन चार महिना उत्पादन नबढेसम्म हामी कमजोर हुँदा रहेछौँ । भारतको बिजुली आएन भने यसले समस्या निम्त्याउँछ भन्ने देखाएको छ । हरेक पटक आउने समस्या समाधानका लागि ‘राइट म्यान, राइट प्लेस’ नै छ । तर, उत्पादनलगायतका पूर्वाधारमा जति लगानी भएको छ त्यसअनुसार काम हुनसकेको छैन । खिम्ति, बाह्रविसे र लफ्सेफेदी सञ्चालनमा आउन नसक्दा केही समस्या पक्कै छ । तरपनि अन्डरग्राउण्ड अपरेसन सञ्चालनमा आएसँगै काठमाडौंमा समस्या आउँदैन । किनकि काठमाडौंमा हावाहुरी आयो काठमाडौंमा र तराईमा हावाहुरी आउँदा तराईमा समस्या आउने हो । हावाहुरी र पानीको समयमा सुख्खायाममा बसेका धुलोहरू पानीको समयमा सिफेज भएर ट्रिप हुने हुनाले पाँच सात दिन समस्या आउँछ । अन्य कारण केही छैन ।’
उनले यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्नेगरी काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्