काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधस्वरूप आन्दोलनरत यातायात व्यवसायीहरूले आज देशभर सार्वजनिक यातायातका साधनहरू ठप्प पार्दा हजारौं यात्रुहरूले चरम सास्ती व्यहोर्नुपरेको छ भने जनजीवन नै प्रभावित बनेको छ ।
यातायात व्यवसायीहरूको छाता संगठन, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सम्पूर्ण लामो तथा छोटो दूरीका सवारी साधनहरू सातवटै प्रदेशमा बन्द गरिएको जानकारी दिए । राजधानी काठमाडौं उपत्यका पनि यस बन्दबाट पूर्ण रूपमा प्रभावित भएको छ । लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनहरू नचल्दा सडकहरू आज बिहानैदेखि प्रायः सुनसान देखिएका छन्।
सडकमा निजी मोटरसाइकल, कार र केही सीमित ट्याक्सीहरू फाट्टफुट्ट देखिए पनि आम सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक बस, माइक्रोबस र टेम्पोहरू भने ग्यारेजबाट बाहिर निस्केका छैनन् । सधैं यात्रुहरूको भीडले खचाखच हुने बस बिसौनीहरूमा आज गाडी कुरिरहेका यात्रुहरूको पातलो उपस्थिति देखिन्थ्यो ।
कतिपय यात्रुहरू वैकल्पिक माध्यमका रूपमा पठाओजस्ता राइड सेयरिङ सेवा प्रयोग गर्दै थिए भने कतिपय पैदलै आफ्नो गन्तव्यतर्फ लागिरहेका दृश्यहरू आम थिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अघिल्ला दिनहरूको तुलनामा आज सार्वजनिक सवारी साधन अत्यन्त न्यून संख्यामा मात्र सञ्चालनमा रहेको बताएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्