
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारी वर्षाको पूर्वसूचना दिइएपछि पनि सामान्य सवारी साधन चलाइएको पाइएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीमाथि कारबाही हुने चेतावनी दिएका छन् ।
गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुनसक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा बोल्दै मन्त्री लेखकले मनसुनको समयमा सडक दुर्घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि कडाइका साथ निर्णय कार्यान्वयन गर्नुपर्ने बताए ।
“भारी वर्षा हुने सूचना दिइएपछि गाडी चलाउनु हुन्न भनिसकेपछि पनि यदि चलाइएको पाइयो भने त्यो जिल्लाका जिम्मेवार अधिकारी कारबाहीको दायरामा पर्छन्,” मन्त्री लेखकको चेतावनी थियो, “कारण देखाउनुपर्ने छैन । बिरामीको एम्बुलेन्स हो भने कुरा अर्कै हो, तर कसैको भनसुनमा सामान्य गाडी चलेको पाइए कडा कारबाही हुनेछ ।”
मन्त्री लेखकले निर्णय कार्यान्वयन मात्र होइन, आम नागरिकसम्म स्पष्ट सूचना पुग्ने व्यवस्था गर्न गृहमन्त्रालय, सुरक्षा निकाय र स्थानीय प्रशासनलाई आग्रह गरे ।
“विपद्का बेला सूचना प्रवाह धेरै महत्वपूर्ण हुन्छ,” उनले भने, “सडकमा जोखिम मोलेर जनताको ज्यान जोगाउने चालकलाई पुरस्कृत गर्नुपर्छ, तर अटेरी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।”
पहिरो र बाढीले सडक अवरुद्ध हुने र सवारी साधन बगाउने घटनाहरू प्रत्येक वर्ष मनसुनमा बढ्ने गरेको उल्लेख गर्दै गृहमन्त्रीले विपद्को बेला सर्वसाधारणले सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई नै पहिलो सम्झिने बताउँदै, सक्रियता र जवाफदेही बढाउनुपर्ने धारणा राखे ।
उहाँले गृहमन्त्रालयका सचिव र प्रहरी प्रमुखमार्फत निर्देशनलाई तल्लो तहसम्म सर्कुलर गर्न पनि आदेश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्