
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपा नेपालका एकमात्र लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र शुक्रबार प्रदेश सरकार र प्रदेश सभामा पेश गरेकी हुन् ।
समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद काफ्लेले मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको घोषणा गरेकी हुन् ।
यसअघि कार्यकारिणी समितिले केही दिनअघि संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा संसदीय दललाई पुनर्विचार गर्न आग्रह गरेको थियो । सोही सन्दर्भमा पार्टीले प्रदेशस्तरमा समर्थन फिर्ता लिएर संघीय राजनीतिक निर्णयतर्फ संकेत गरेको देखिएको छ ।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थनमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको हो । जसपा नेपालसहित केही साना दलहरूले सरकारलाई विश्वासको मत दिएका थिए ।
जसपा नेपालको समर्थन फिर्ता भए पनि मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको तत्काल अस्तित्वमा ठूलो असर नपर्ने देखिएको छ । तर, दलहरूले समर्थन फिर्ता गर्दै लगेपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था भने आउन सक्छ ।
जसपा विभाजनपछि काफ्ले जसपा नेपालमा लागेकी हुन् भने अन्य दुई सांसद जसपामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्