images
images
  • न्यायालयप्रति जनविश्वास करिब टुट्ने अवस्थामा छ : महेश बर्तौला

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास गम्भीर रूपमा कमजोर भएको बताएका छन् ।

    सोमबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक वर्तौलाले न्यायिक प्रणालीप्रति जनस्तरको भरोसा करिब टुट्न लागिसकेको अवस्था रहेको उल्लेख गरे ।

    उनले भने, ‘पछिल्लो चरणमा न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर मात्रै होइन, भरोसा करिब करिब टुट्न खोजेको अवस्था छ । त्यसमा जिम्मेवार कारण धेरै छन्। तर न्यायाधीशहरूको भूमिकामाथि गम्भीर प्रश्न उठिरहेको छ ।’

    बर्तौलाले न्यायाधीशहरूको आचरण, न्याय सम्पादनमा विचलन, र निर्णय प्रक्रियामा देखिएको अपारदर्शिताले संस्थामाथि प्रश्न खडा गरेको उल्लेख गरे ।

    सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापासँग प्रत्यक्ष प्रश्न गर्दै उनले भने, ‘यहाँले भोलि यस्तो किसिमका टिप्पणीहरू पुनः नआउन् भनेर कसरी अघि बढ्नुहुन्छ ? पीडितले न्याय पाउने कुराको सुनिश्चितता कसरी गर्नुहुन्छ ?’

    उनले न्यायाधीशहरूले कतिपय अवस्थामा उपलब्ध तथ्य र प्रमाणभन्दा पनि भीडको दबाब तथा आफू जोगाउने मानसिकताका आधारमा फैसला गर्ने गरेको टिप्पणी गरे ।

    ‘वास्तवमा न्याय दिने हो कि भीडबाट जोगिने ? त्यस्ता प्रवृत्तिले नै न्यायालयप्रतिको भरोसा खस्किएको हो,’ बर्तौलाको भनाइ थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै