
काठमाडौं । एउटा मन्त्रालयको गाडी दुरुपयोग भएको घटनाले सरकारी सम्पत्तिको चरम दुरुपयोगको विकराल चित्र उजागर गरेपछि सरकारले कडा कदम चालेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी हराएको र फेला परेको प्रकरणपछि तरंगित बनेको सिंहदरबारले देशभरका सबै सरकारी निकायलाई आफ्नो मातहतमा रहेका सवारी साधनको सम्पूर्ण विवरण तत्काल बुझाउन कडा निर्देशन दिएको छ ।
श्रम मन्त्रालयको गाडी प्रकरण सार्वजनिक भएपछि सरकारी सवारी साधनको प्रयोग र संरक्षणमा देखिएको चरम लापरवाही र सम्भावित दुरुपयोगको मुद्दा सतहमा आएको थियो। यही घटनाबाट ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सबै मन्त्रालय, आयोग, समिति तथा अन्य सरकारी निकायहरूलाई परिपत्र गर्दै सवारी साधनको अद्यावधिक विवरण माग गरेको हो ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीद्वारा हस्ताक्षरित परिपत्रमा सरकारी स्वामित्वमा रहेका वा कुनै पनि माध्यमबाट हस्तान्तरण भई प्रयोगमा रहेका सबै दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनको विस्तृत लगत पठाउन भनिएको छ । ‘सवारी साधनको नाममा दर्ता रहेको तथा हस्तान्तरण भई प्रयोगमा रहेका सबै सवारी साधनहरूको विवरण (दुई पाङ्ग्रे वा चार पाङ्ग्रे) प्रयोग गरिरहेका अधिकृत वा कर्मचारीको नाम र पदसहित तोकिएको ढाँचामा तयार गरी उपलब्ध गराउन अनुरोध गरिन्छ,’ परिपत्रमा उल्लेख छ ।
निर्देशनअनुसार, प्रत्येक निकायले सवारी साधनको प्रकार, दर्ता नम्बर, हाल प्रयोग गरिरहेका कर्मचारी वा पदाधिकारीको नाम, पद र सवारी साधन प्रयोगको अवस्था (जस्तै: पुलमा रहेको, व्यक्तिगत प्रयोजनमा दिइएको, वा कार्यालय प्रयोजनमा) स्पष्ट खुलाई पठाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्