काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु नफर्किएको आफूले नभनेको स्पष्ट पारेकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो स्पष्टीकरण दिनुभएको हो । सभाको मङ्गलवारको बैठकमा सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएर केही मानिस नफर्किएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसदको ध्यानाकर्षण गराएकी थिइन् ।
उनले समाचारमा आएका कुराहरूबारे संसदको ध्यानाकर्षण गराउँदा आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग भएकोप्रति पनि आपत्ति जनाइन् ।
उनले भनिन् ‘यस्तो नागरिक बेचिने र देशकै छविमा आँच आउने सरकारले स्वार्थ बाझिने अनुपयुक्त आफू मातहतकै कनिष्ठ कर्मचारीको नेतृत्व टालटुले छानबिन समिति बनाएर झेली खेल खेलेको छ । यसकै विरोधमा हामी हाम्रो कुरा नसुनेको कारण निरन्तर रुपमा संसद बहिस्कार गरिरहेका छौं । सभामुख महोदय यही विषयमा हिजो मैले बोलेको कुरा संसदबाट हटाउन समेत माग भएको रहेछ । पछि थाहा भयो । प्रधानमन्त्रीज्यूको सचिवालयबाट चुनौती पनि आएको रहेछ । केही माननीयज्यूहरूले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ । सभामुख महोदय रास्वपा जिम्मेवार पार्टी हो । मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु फर्किएनन् भनेको छैन । राम्रोसँग कान खुलेर सुन्नुहोस् ।’
सांसद गौतमले प्रधानमन्त्री सहभागी हुन गएका केही नागरिकहरू नफर्किएको दोहोराइन् । प्रधानमन्त्रीसँगै नगए तापनि उक्त कार्यक्रममा सहभागी हुन भनी गएका नागरिकहरू नफर्किएको सत्य कुरा भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्