गणेश विक, काठमाडौं । शनिबारको दिन थियो। मौसम शान्त, राजधानी सामान्य। समाचार केही थिएन, अफिसकाे काम पनि केही थिएन्। म काेठामै सुतिरहेको थिए, एक जना प्रहरीले फाेन गर्याे ल गणेश आज घुम्न आउनु भनेर, म पनि तयार भएर पठाउ चढेर ठमेल तिरे लागे ।
साँझ पर्दै जाँदा म ठमेल, दरबारमार्ग, माईतीघर हुँदै बिजुलीबजारतिर लागेँ । त्यही प्रहरीले साथीलाई घर पठाए ।
त्यो ठाउँतिर, जहाँको रात झिलिमिली हुन्छ तर भित्र कतै अँध्यारो हुन्छ। क्लब, डान्सबार, दोहोरी साँझ यी मनोरञ्जनस्थलमा जो देखिन्छन्, ती सबै हाँसीरहेका हुन्छन्, तर त्यो हाँसोभित्र पीडा लुकेको हुन्छ।
राजधानीको रातो बत्तीभन्दा टाढा, तर उज्यालो बत्तीमुनि लुकेका यथार्थहरू कति गहिरा छन् भन्ने कुरा बुझ्न केवल एक साँझ ठमेल, माईतिघर र बिजुलीबजार चहार्नु पर्याप्त हुन्छ।
नेपालका प्रायः जिल्ला केन्द्रहरूमा अहिले डिस्को, डान्सबार, क्लब, दोहोरी साँझहरू खुलेर सञ्चालनमा छन्।
केही कानुनी रूपमा, केही अवैध रूपमा। ती ठाउँहरूमा कार्यरत अधिकांश युवतीहरू १५ देखि २५ वर्षको उमेर समूहका छन्।
बालिग र अर्ध-बालिगको बीचमा रहेका ती युवतीहरू आर्थिक विवशतामा बाँधिएका छन्। शिक्षाको अभाव, घरको दायित्व, जीवनको सपना सबै सस्तो र चम्किलो रंगमा बेचिइरहेका छन्।
यही सामाजिक यथार्थ बुझ्न म एक साँझ निस्किए पत्रकारको हैसियतमा, नशा होइन, उद्देश्यसहित।
साउन १० गते शनिबारको दिन अफिसमा खासै काम थिएन। म विभिन्न क्लब, बार र दोहोरी साँझ पुगेँ। त्यो रातको उज्यालो भित्र पस्दा केही चकमक देखिए। तर त्यो चकमक जीवन थिएन, लाचारीको मुखौटा थियो।
“दाइ, तपाईंजस्तो मान्छेले मसँग बिहे गरे त मलाई यो पेसाबाट छुटकारा मिल्ला,” यो कुरा मलाई एक १९ वर्षीया युवतीले भनिन्।
काँचो उमेर, मदिराले लठ्ठ, तर आँखामा बाँच्न खोजेको सपना।
त्यो कुरा सुनिसकेपछि म केही समय निस्कन सकेन। म आफैं त्यही ठाउँमा थिए, पत्रकार अन्तर्राष्ट्रिय पत्रकार संगठनसँग पनि आबद्ध छु म, याे सफलताकाे पछि मेरो प्याराे आदरणीय रमेशकुमार कुमार बाेहाेराकाे ठुलो हात छ। तर त्यो रात मैले पनि बियरको गिलास समातेँ। म पिउन चाहन्थेँ त होइन, तर ती चिटिक्क परेका युवतीहरूसँगको केही समय संवाद गर्न, उनीहरूको पीडा बुझ्न, केही असली कुरा निकाल्नको लागि।
मैले त्यो रात १७ सय रुपैयाँ बिल तिरेर कोठामा फर्कें। शरीरमा बियरको झलक्क, मनमा ती युवतीहरूको भविष्यको चिन्ता।
“किन यति साना छोरीहरू यस क्षेत्रमा धकेलिन्छन्?”
जवाफ स्पष्ट छ:- अभाव, अवसरको कमी, र समाजको नजरअन्दाजी। ती युवतीहरू कसैले रहरले त्यहाँ पुगेका होइनन्। दुई चार रुपैयाँ कमाउने लोभले होइन, जीवन धान्नुपर्छ भन्ने बाध्यताले उनीहरूलाई रातको रंगीन दुनियाँमा धकेलेको हो।
बारका सञ्चालकहरू कानुनी जिम्मेवारीबाट लुकिरहेका छन्। प्रशासन मौन छ। समाजले लाज मान्ने नाममा आँखा चिम्लेको छ। तर, ती बहिनीहरू हाम्रो समाजकै छोरीहरू हुन्, जसले एक दिन न्याय र सम्मानका साथ बाँच्न पाउनुपर्छ।
पत्रकारिता केवल सूचनाको संकलन होइन, पीडितका आवाज बन्ने माध्यम हो। मैले त्यो रात आफूले देखेको, भोगेको, महसुस गरेको कुरा आज यहाँ लेखेको छु।
त्यस युवतीको बिहे प्रस्ताव कुनै हास्यास्पद वा रोचक प्रसंग होइन, त्यो उसको पीडाले भरिएको आर्तनाद थियो। त्यो आर्तनाद हामीले नसुन्यौं भने हामी सबै दोषी हुनेछौं।
राजधानीको रंगीन साँझभित्र लुकेको कालो यथार्थ देख्दा पीडा लाग्छ। हाम्रा छोरीहरू, बहिनीहरू आर्थिक अभावको कारणले गरिमाहीन काम गर्न बाध्य छन्।
यो कथा केवल एउटा युवतीको प्रस्तावको होइन, हजारौं चिच्याइरहेका, तर सुन्ने कोही नभएका आवाजहरूको प्रतिनिधित्व हो।
अब पनि हामी मौन बस्यौं भने, हामी इतिहासको अपराधी बन्नेछौं। ति १९ बर्ष युवतीले भनिन्, म त बाँच्न खोजिरहेकी छु। यो पेसाबाट त छुटकारा चाहिएको छ।” मैले मेरो घरमा जानकारी दिएको छैन, घरमा परिवारले थाहा पाए भने मैले कसरी नाँकमुख देखाउने ।
शब्दले मन खायो। मलाई लाग्यो, म पत्रकार हुँ भन्ने परिचय त त्यहाँको आवाज सुन्न र बोल्ने जिम्मेवारी हो। यसपछि म उनलाई सोध्न थालेँ, “तिमी यहाँ किन?”
उनले भनिन्:- “बुबा बिरामी छन्, आमा मरेकी छन्। भाइलाई पढाउनु छ। गाउँ फर्कें भने काम छैन। दुई-चार हजार कमाएर पेट पाल्न खोजेकी हुँ।”
बुवाकाे उपचार र भाईकाे पढाइको लागि यहाँ छु। त्यो उत्तर मात्र उनकाे थिएन यो उत्तर अहिले हजारौं नेपाली युवतीहरूको साझा कथा हो।
नयाँ रूपको आधुनिक बन्धन : आर्थिक विवशता र यौनिक शोषणको घेरा नेपालमा हाल थुप्रै डिस्को, क्लब, डान्सबार, दोहोरी साँझहरू खुलेका छन्।
कति पर्यटन प्रवर्द्धनको नाममा, कति चुपचाप व्यापारको रूपमा। तर तीमध्ये धेरै स्थानमा कार्यरत महिला कामदारहरू १५ देखि २५ वर्ष उमेर समूहभित्रका छन्। कसैले चाहेर होइन, विवश भएर आउँछन्।
आर्थिक अभाव, परिवारको दायित्व, समाजको असहयोगी प्रवृत्तिले उनीहरूलाई यो पेसामा पुर्याउँछ। के राज्यले यो अवस्थाबारे चासो दिएको छ ? प्रशासन मौन, कानून निरीह, सरकार गम्भीर छैन ? नेपालको श्रम ऐनले १८ वर्ष मुनिका किशोरीहरूलाई यस्ता पेसामा राख्न निषेध गरेको छ।
“बालश्रम निषेध ऐन २०५६”
“मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४” “श्रम ऐन २०७४” यी ऐनहरूले महिला र किशोरीहरूलाई यौनिक, मानसिक र शारीरिक शोषणबाट जोगाउने व्यवस्था गरेका छन्। तर जब क्लब र दोहोरीभित्र प्रवेश गरिन्छ, तिनै कानूनहरू ढोकामै रोकिएका हुन्छन्।
प्रहरी प्रशासनले केही ठूला छापा मार्दा वा छिटपुट कारबाही गरेजस्तो देखिए पनि त्यो पनि ‘प्रेसर रेस्पोन्स’ मात्रै हो।
दैनिक चलिरहेकाहरूमा निरीक्षण, नियमन, सुधारको नाममा केही छैन।
कसैले जानाजानी आँखा चिम्लिएको छ। सञ्चालकहरू राजनीतिक पहुँचमा छन्। प्रहरी सञ्जालमा सम्बन्धमा छन्, र प्रशासन व्यस्त छ। कार्यक्रम उद्घाटन र तस्बिर खिच्नमा ब्यस्त।
मिडिया र समाज: सहानुभूति होइन, ‘गसिप’
मिडियाले पनि धेरैजसो बेला यस्ता घटनालाई केवल “रोचक खबर” का रूपमा प्रस्तुत गर्छ। कसैको जीवनको पीडा, कसैको असहाय अवस्था खबरका हेडलाइन बन्न पुग्छ, तर समाधानको बहस हुँदैन।
समाजले यस्ता युवतीहरूलाई हेर्दा उनीहरूको ‘रोल’ हेर्छ, ‘घटनाक्रम’ हेर्छ।तर परिस्थिति हेर्दैन। उनीहरूकै ठाउँमा आफ्नी छोरी परेको भए सायदै कोही मौन बस्थे।
संवेदनशील राज्यको आवश्यकता
हामी कस्तो देश बनाउँदैछौं ? जहाँ किशोरीहरू ५ सय, १ हजारको लोभमा शरीर बेच्नुपर्ने अवस्थामा छन्।
जहाँ बाँच्नका लागि बिहे प्रस्ताव गर्नु परिरहेको छ। र जहाँ “नियम, नीति र कानून” किताबमा मात्रै छन्।
राज्यले के गर्नुपर्छ ?
बार र क्लबहरूको अनिवार्य नवीकरण तथा अनुमतिपत्रको सशक्त निरीक्षण। १५–२५ वर्षका कामदारहरूको सत्य विवरण संकलन र मूल्याङ्कन।
सुरक्षित आश्रयस्थलहरूको व्यवस्था, जसले इच्छुक युवतीलाई वैकल्पिक रोजगारी उपलब्ध गराओस्। प्रहरी, स्थानीय सरकार र श्रम विभागबीच समन्वयात्मक कार्यशैली। मानसिक स्वास्थ्य सहयोग केन्द्रहरूको स्थापना।
पत्रकारिताको जिम्मेवारी : केवल लेख्ने होइन, सुनाउने पनि
म त्यो रात १७ सय रुपैयाँको बिल तिरेर फर्किए। शरीरमा बियरको झलक्क थियो, तर मनमा झन् ठूलो नशा थियो, सामाजिक पीडाको नशा। त्यो १९ वर्षीया युवतीले मलाई बिहे प्रस्ताव गर्दा मलाई ‘अपराधी’ जस्तो महसुस भयो। किनकि म पनि त्यही समाजको हिस्सा थिए, जसले उनिलाई त्यस ठाउँमा पुर्याएको थियो।
पत्रकारको रूपमा मसँग कलम छ, आवाज छ। र जिम्मेवारी पनि।
त्यही जिम्मेवारी अन्तर्गत म यो लेख प्रस्तुत गरिरहेको छु:- कि सायद तपाईंले यो कथा पढेर कम्तिमा एकचोटि त्यो युवतीको ठाउँमा आफैंलाई राखेर सोच्नुहोला। सांगीतिक रातहरू रमाइला हुन्छन्, तर तिनका भित्र कतिपय कथा अश्रुशिक्त छन्।
हामी ती कथा नलेख्ने हो भने, नबोल्ने हो भने, र तिनका लागि आवाज नबन्ने हो भने । हामी पनि शोषणको साक्षी भएर बाँचिरहेकै हुन्छौं। त्यो युवतीको प्रश्न मेरो कलमले आज सार्वजनिक गर्यो।
“तपाईंजस्तो मान्छेले बिहे गरे त म यो पेसाबाट छुटकारा पाउँथें…” के हामी यो समाजलाई त्यो ‘छुटकाराको बाटो’ देखाउन सक्दैनौं?
लेखक: विक २०७५ सालदेखि अपराध र अनुसन्धान पत्रकारितामा संलग्न र नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य तथा खप्तडटिभीका सम्पादक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्