काठमाडौं । हमासले २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुट्ज अलुमिमबाट अपहरण गरेकामध्ये एक नेपाली कृषि स्वयंसेवक विपिन जोशीकी आमा पद्मा र १७ वर्षीया बहिनी पुष्पा इजरायल पुगेका छन् ।
इजरायल सरकारले बोलाएपछि उनीहरु सोमबार बेन गुरियन विमानस्थलमा ओर्लिएका हुन् ।
विमानस्थलमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको कुराकानीमा पद्माले आफ्नो छोराको ज्यान बचाइदिन अपिल गरिन् । “प्लिज, मेरो छोरालाई बचाउनुहोस्,” पद्माले आँसु झार्दै भनिन्, “हमास, अब [उसलाई] घर फिर्ता पठाइदिनुस् । प्लिज [उसलाई] घर फर्काइदिनुस्, हमास । प्लिज । प्लिज ।”
विपिनकी बहिनी पुष्पाले पनि सहयोग मागिन् । “मेरो दाजु पढ्नका लागि आउनु भएको थियो, हाम्रो कसैसँग दुश्मनी छैन । उहाँलाई विनासित्ती नराख्नुस् । हामी उहाँलाई लिन धेरै टाढाको देश नेपालबाट आएका हौं,” उनले भनिन् ।
“हामी उहाँलाई फिर्ता चाहन्छौं । यो मेरो र मेरो परिवारको लागि धेरै भयो । लगभग दुई वर्ष भइसक्यो । हामी उहाँको अवस्थाको बारेमा सोच्न सक्दैनौं । उहाँ त्यहाँ के गरिरहनुभएको छ, उहाँले खान पाइरहनु भएको छ कि छैन, उहाँले औषधि पाइरहनु भएको छ कि छैन ?,” पुष्पाले प्रश्न गरिन् ।
विपिनकी आमा र बहिनीले विपिन बस्ने अलुमिम, उनका साथीहरूलाई भेट्ने र उनको अवस्थाबारे सरकारी निकायसँग जानकारी लिने टाइम्स अफ इजरायलले जनाएको छ । साथै, उनीहरूले इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग, परराष्ट्रमन्त्री गिडोन सा’र र केनेसट स्पिकर अमिर ओहानासँग भेट्ने कार्यक्रम रहेको छ ।
विपिन कृषि विषयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि इजरायल गएका थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलको किबुजमा आक्रमण गरेदेखि विपिन सम्पर्कमा छैनन् । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने हमास लडाकुले विपिनसहित २५१ जनालाई बन्धक बनाएका थिए ।
हाल हमासको कब्जामा ५० बन्धक रहेका छन्, जसमा २० जना मात्र जीवित रहेको विश्वास गरिन्छ । जसमध्ये २८ जनाको मृत्यु भएको छ र विपिन र तामिर निम्रोदीको अवस्था भने “गम्भीर चिन्ताजनक” रहेको इजरायल प्रतिरक्षा सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)



















प्रतिक्रिया दिनुहोस्