images
images
  • बाह्रबिसे, तातोपानी हुँदै मानसरोवर निस्किए प्रसिद्ध सदगुरु : बाह्रबिसेका मेयरसहित स्थानीयले गरे स्वागत

    सिन्धुपाल्चोक — प्रख्यात भारतीय धर्मगुरु जग्गी वासुदेव (सदगुरु) जिल्लाको बाह्रबिसे, तातोपानी हुँदै  कैलास मानसरोवर यात्रामा निस्केका छन्।

    शनिबार उनीसहित आएका तिर्थालुलाई बाह्रबिसे नगरको खुर्सानीबारीमा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतसहित अन्य स्थानीयले स्वागत गरेका छन् ।

    उनी भोटेकोसी गाउँपालिका–२ बाट चीन ज‍ोड्ने तातोपानी नाका भएर मानसरोवर जाने छन् । जिल्ला प्रहरी सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्किकाअनुसार शुक्रबार उनी बाइकमा तातोपानी नाकामा पुगेर चीनतर्फ प्रवेश गर्ने कार्यक्रम रहेको थियोे । तर शुक्रबार स्थगित गरेर शनिबार यात्रा निश्चित गरेर सुरक्षा दिइएको इलाका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले बताए । बाह्रबिसेदेखि तातोपानी क्षेत्रसम्म सुरक्षाकर्मीको ‘एस्कर्टिङ ‘गरिनेछ ।

    ‘सिन्धुपाल्चोक पुग्दा मनमोहक महान तिर्थको अनुभव भएको छ, यस महान तिर्थमा रहने हजुरहरु भाग्यमानी हुनुहुन्छ,’बाह्रबिसे नगरका मेयरलाई भेट्दै सदगुरुले हर्षित हुँदै भने । १० मिनेट बाह्रबिसेमा रोकिएका उनलाई भेट्ने र दर्शन गर्नेको भिड लागेको थियोे । सदगुरुलाई जनप्रतिनिधिले स्वागत गरेको घटना जिल्लामा पहिलो हो । सदगुरु ११ दिन मानसरोवरको यात्रा सकेर यहि मार्गबाट फर्कने प्रहरीले जनाएको छ ।

    सदगुरुसँगै तिर्थालुको भिड 

    तातोपानी नाका चीनसँगको प्रमुख व्यापारिक र धार्मिक मार्गका रूपमा पनि चिनिन्छ। भने कैलाश मानसरोवर विश्व प्रसिद्ध छ । मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो । प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म मानसरोवर–कैलाश दर्शनको समय हो ।

    लामो समयपछि कैलाश दर्शनका लागि आउन पाउँदा खुसी लागेको भारतीय तीर्थयात्रीको भनाइ छ । बाढीका कारण रसुवागढी नाकाबाट चीन जाने मार्ग बन्द भएपछि कैलाश मानसरोवर दर्शन गरेर फर्किरहेका तीर्थयात्री तातोपानी नाकाबाट नेपाल भित्रिन थालेका छन् ।

    रसुवागढी नाकाबाट असारको सुरुतिर चीन प्रवेश गरेका तीर्थयात्रीले मंगलबारको बाढीबाट टिमुरे–केरुङ सडक सम्पर्क विच्छेद भएपछि वैकल्पिक बाटो प्रयोग गर्न थालेका हुन् । तातोपानी कोदारी अध्यागमन कार्यालयका अनुसार शनिबारसम्म झन्डै एक हजारभन्दा बढी तीर्थयात्री नेपाल फर्किएका छन् ।

    ‘अहिले दिनमा ७० भन्दा बढी पर्यटक मानसरोवरबाट फर्किरहेका छन् । उनीहरू सुरुमा हेलिकोप्टरबाट फर्केका थिए भने अहिले सवारीसाधनमार्फत काठमाडौं गइरहेका छन्,’ इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख जगतबहादुर राईले भने ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै