काठमाडौं । लगातार नाफाको उकालो यात्रामा रहेको नेपाल विद्युत प्राधिकरणको मुनाफामा गत आर्थिक वर्षमा गिरावट आएको छ । प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ७ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब ४६ करोड रुपैयाँले कम हो ।
प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कुनै समय ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण आर्थिक वर्ष २०७२/७३ यता निरन्तर नाफामा थियो, तर गत वर्षको यो गिरावटले नाफाको निरन्तर वृद्धिमा भने ‘ब्रेक’ लागेको छ । प्राधिकरणको करअघिको नाफामा ३७.३२ प्रतिशतले कमी आएको विवरणमा उल्लेख छ ।
नाफामा गिरावट आए पनि प्राधिकरणको समग्र वित्तीय स्वास्थ्य भने मजबुत देखिएको छ । संस्थाको कुल सम्पत्ति अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जसले संस्थाको लगानी र दायरा विस्तार भइरहेको देखाउँछ ।
यसैगरी, प्राधिकरणले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै अनलाइन भुक्तानी संकलनमा उल्लेख्य प्रगति गरेको छ । अघिल्लो वर्ष २७ अर्ब ४४ करोड रुपैयाँ अनलाइनमार्फत संकलन भएकोमा गत आवमा यो बढेर ३४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
प्राधिकरणले सामाजिक उत्तरदायित्वतर्फ पनि महत्त्वपूर्ण काम गरेको छ । गत आर्थिक वर्षमा ५ एम्पियर क्षमतासम्मका करिब २० लाख ७३ हजार ग्राहकलाई १७ करोड ६७ लाख युनिटभन्दा बढी विद्युत निःशुल्क उपलब्ध गराइएको छ । प्राधिकरणको औसत विद्युत बिक्री दर प्रतियुनिट ९.४४ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्