ललितपुर, असोज ३ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको नेतृत्वमा सम्पन्न ऐतिहासिक आन्दोलनपछिको परिस्थितिप्रति एकदमै गम्भीर र संवेदनशील हुँदै सम्पूर्ण ख्रिस्टियन समुदायको तर्फबाट नेपाल राष्ट्रिय मन्डली सङ्गति र नेपाल ख्रिस्टियन समाजले सामूहिक अपिल गरिएको छ ।.
जेनजी आन्दोलनबाट देशले भोग्दै गरेको संकट र पीडाको यस घडीमा सम्पूर्ण स्थानीय मन्डली, ख्रिस्टीय समाज तथा सङ्घसंस्थाहरूले स्थानीय निकायहरूसँग सहकार्य गरी आआफ्नो ठाउँबाट यथाशक्य आर्थिक, भौतिक तथा आत्मिक सहायता उपलब्ध गराउँदै पीडित परिवारहरूसमक्ष सान्त्वना र राहतका कार्यहरू अघि बढाउन आह्वान गर्दै ख्रीष्टियन समुदायको तर्फबाट ४ बुँदे संयुक्त अपिल गरिएको हो ।
राष्ट्रप्रतिको प्रेम तथा उत्तरदायित्वमा जिम्मेवार हुन अनि आफ्नो आस्था, प्रार्थना र सेवामा निरन्तर अडिग रहन समेत उहाँहरुले अपिल गर्नुभएको छ ।
नेपाली ख्रीष्टियन समुदाय तथा चर्चलाई ४ बुँदे संयुक्त आह्वान गर्दै नवनियुक्त प्रधानमन्त्रीका लागि प्रार्थना गर्न, दुःखीपीडितप्रति परमेश्वरको प्रेम प्रदर्शन गर्न, भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनामा सहायता गर्न र स्थानीय मन्डली तथा सङ्घसंस्थाहरूको सहभागिता जनाउन अपिल गरिएको छ ।
एनसीएफ नेपालका केन्द्रीय अध्यक्ष हनोक तामाङले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै विगतमा देशमा आईपरेका विभिन्न समस्याहरुको अग्रभागमा रही स्थानीय निकायहरूसँग सहकार्य गरी आआफ्नो ठाउँबाट आर्थिक, भौतिक सहायता उपलब्ध गराउँदै पीडित परिवारहरूसमक्ष सान्त्वना र राहतका कार्यहरू अगि बढाउदैँ आइरहेको अवस्थामा हालै जेनजी आन्दोलनबाट राज्यलाई अपूर्ण क्षति भएकोले यतिखेर देश रोएको बेला यस्तो संकटमा नेपाली ख्रीष्टियन समुदायको सक्रिय सहभागीता, सहयोग र समन्वयको आवश्यकताको महशुस गर्दै संयुक्त अपिल जारी गरिएको बताउनुभयो ।
उहाँले यतिबेला देश चरम संकट र पीडाबाट भएर गईरहेको बेलामा सबै धार्मिक समुदाय पनि एकसाथ यस संकटको बेलामा सरकारको साथ दिन एकसाथ उभिनुपर्ने बेला आएकोले सबै क्षेत्रको पुनः निर्माण र विकासमा सक्रिय सहभागीता भईदिन सार्वजनिक अपिल गर्नुभएको छ ।
ख्रीष्टियन समुदायको तर्फबाट संयुक्त अपिल जारी गर्नेहरुमा एनसीएफ नेपालको तर्फबाट केन्द्रीय अध्यक्ष पास्टर सूर्यबहादुर बल तामाङ (हनोक) र महासचिव पास्टर शेरबहादुर ए.सी. र एनसीएसको तर्फबाट सहअध्यक्ष पास्टर कृष्णबहादुर श्रेस्ठ (वर्णवास श्रेष्ठ, सहअध्यक्ष एनसीएस) र महासचिव पास्टर राजेन्द्र मल्ल रहनुभएको छ ।
४ बुँदे संयुक्त अपिल यस प्रकारको छ :
१. नवनियुक्त प्रधानमन्त्रीका लागि प्रार्थना गर्न
यस विषम परिस्थितिमा देशको नेतृत्व सँभाल्नुभएकी नवनियुक्त प्रधानमन्त्री सम्माननीय शुशीला कार्कीज्यूका सामुन्ने अनेकौं चुनौतीहरू छन् । उहाँले आफ्नो तोकिएको जिम्मेवारी दृढतापूर्वक सम्पन्न गर्न उहाँलाई आवश्यक ज्ञानबुद्धि, साहस र सुस्वास्थ्य प्राप्त भएको होस् भन्ने हाम्रो प्रार्थना छ र सम्पूर्ण मन्डली परिवारलाई प्रार्थना गर्न समेत आग्रह गर्दछौं ।
२. दुःखीपीडितप्रति परमेश्वरको प्रेम प्रदर्शन गर्न
देशले भोग्दै गरेको संकट र पीडाको यस घडीमा हामी सम्पूर्ण स्थानीय मन्डली, ख्रिस्टीय समाज तथा सङ्घसंस्थाहरूले स्थानीय निकायहरूसँग सहकार्य गरी आआफ्नो ठाउँबाट यथाशक्य आर्थिक, भौतिक तथा आत्मिक सहायता उपलब्ध गराउँदै पीडित परिवारहरूसमक्ष सान्त्वना र राहतका कार्यहरू अगि बढाउन विशेष आह्वान गर्दछौं ।
३. भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनामा सहायता गर्न
हालको आन्दोलन तथा संकटका कारण देशका पुराना र महत्त्वपूर्ण भौतिक संरचनाहरू गुमाउनुपरेको अवस्थाले हामीलाई मर्माहत तुल्याएको छ । ती संरचनाहरूको छिटोभन्दा छिटो पुनःनिर्माण र पुनःस्थापना होस् भन्ने हाम्रो प्रार्थना छ । यस कार्यमा हाम्रा धेरै जेनजी पुस्ता र युवाहरूको सक्रियतामा राहत जुटाउने काम भैरहेकोले हामी अझै उत्साहित बनेका छौं । यसमा सरकार, नागरिक समाज र सम्पूर्ण ख्रिस्टियन समुदाय एकजुट भई सकारात्मक भूमिका खेल्दै शीघ्र पुनः निर्माण र पुनःस्थापना सम्पन्न गर्न आफ्नो बलियो उपस्थिति जुटाउनमा हाम्रो विशेष पहल हुने कुरामा पनि हामी अगुवाई गर्ने छौं ।
४. स्थानीय मन्डली तथा सङ्घसंस्थाहरूको सहभागिता जनाउन
प्रहरी, स्थानीय प्रशासन, मन्त्रालयहरू र नेपाल सरकारसमेतले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भई नष्ट भएका संरचनाहरू स्थानीय मानिस र विभिन्न सङ्घसंस्थाहरूको सहभागितामा पुनः निर्माण गर्ने प्रतिवद्धता जनाएअनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँहरूमा यो सक्रिय रूपमा सुरु भइसकेको र ख्रिस्टियन सङ्घसंस्था तथा मन्डलीहरूले पनि कति ठाउँमा सहायता गरिरहेका जानकारीहरू प्राप्त भएकाले सम्पूर्ण ख्रिस्टीय सङ्घसंस्था र स्थानीय मन्डलीहरूलाई आआफ्ना वरिपरि तथा अन्य क्षेत्रहरूमा समेत आर्थिक रूपमा अनि जनसहभागिता जनाएर सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूका उपचारका लागि विभिन्न अस्पतालहरूमा रगतसमेतको अभाव हुन थालेका समाचारहरू प्राप्त भएकाले विभिन्न खिस्टीय सङ्घसंस्था तथा मन्डलीहरूले रक्तदान कार्यक्रमहरू आयोजना गरेका ठाउँमा गई रक्तदान गर्न समेत हार्दिक अनुरोध गर्दछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्