काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भाद्र २३ र २४ गतेका आन्दोलनका शहीद तथा घाइतेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको आमूल परिवर्तन र देशमा सुशासन स्थापनाका लागि आफू दृढ संकल्पित रहेको बताएका छन् । उनले भ्रष्टाचारको अन्त्य नभएसम्म शहीद परिवार भेट्न आफूलाई योग्य नठान्ने समेत स्पष्ट पारेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले भनेका छन्, ‘हाम्रो भत्केका घरहरू फेरि बन्नेछन्, कार्यालयहरू ठडिनेछन्, तर गुमेको जीवन फर्किँदैन ।’ उनले कतिपय साथीहरूले घाइते र शहीद परिवारलाई भेट्न किन नगएको भनी प्रश्न गरेको उल्लेख गर्दै त्यसको जवाफमा भनेका छन्, ‘भ्रष्टाचारको अन्त्य र सुशासनको माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले ठोस परिणाम ल्याएपछि मात्र म परिवारलाई भेट्न योग्य ठान्छु ।’
महामन्त्री थापाले भाद्र २३ को आन्दोलनमा भएको व्यापक दमन र भाद्र २४ को आन्दोलनमा नौजवानहरूको पवित्र आक्रोश तथा घुसपैठ दुवैको गहिरो छानबिन हुनुपर्नेमा जोड दिएका छन् । ‘दोषीले सजाय पाउनुपर्छ, यदि दण्डहीनता भयो भने आन्दोलनको पवित्रता बदनाम हुन सक्छ,’ उनको भनाइ छ ।
उनले २०४६ सालपछिका जिम्मेवार राजनीतिक, प्रशासनिक र सेना क्षेत्रमा रहेका व्यक्तिहरूको सम्पत्ति, जग्गा, व्यापार आदिको कानूनी छानबिन हुनुपर्ने माग समेत गरेका छन् । थापाले भने, ‘गल्ती भएकोले सजाय पाउनुपर्छ, अनि मात्रै उपलब्धि स्वीकार्य हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)



















प्रतिक्रिया दिनुहोस्