काठमाडौं । देशभर बाढीपहिरोले पुर्याएको जनधनको क्षति र त्यसपछिको अवस्थाबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बैठकको मुख्य एजेण्डा बाढीपहिरोबाट सिर्जित विपत्तिको वर्तमान अवस्था र त्यसको व्यवस्थापनमा केन्द्रित हुनेछ । विशेषगरी, पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, अवरुद्ध भएका सडक तथा यातायातका साधन सञ्चालनमा ल्याउने लगायतका ९ वटा एजेण्डामा छलफल हुनेछ ।
बैठकमा विपद्मा ज्यान गुमाउने र बेपत्ता हुनेहरूप्रति दुःख व्यक्त गर्दै उनीहरूका परिवारलाई कानुनबमोजिम राहत उपलब्ध गराउने विषयमा निर्णय लिइनेछ । यसैगरी, विपद्पछि फैलिन सक्ने महामारीजन्य रोगहरूको व्यवस्थापन, अस्थायी आवास निर्माण र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि आवश्यक योजनामाथि पनि छलफल गरिनेछ ।
गत असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण आएको भारी वर्षासँगैको बाढीपहिरोले देशभर ठूलो क्षति पुर्याएको थियो । यस विपद्मा परी हालसम्म ६० जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै मानवीय क्षति इलाम जिल्लामा भएको छ । बाटोघाटो, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौंको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
बैठकमा अर्थमन्त्री, ऊर्जा मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, शिक्षा मन्त्री, कृषि मन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई आमन्त्रण गरिएको छ । यसले विपद् व्यवस्थापनमा संघीय र प्रादेशिक सरकारबीचको समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
यसैगरी, विज्ञ सदस्यका रूपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी हुनेछन् । यसले विपद् व्यवस्थापनका लागि प्राविधिक तथा नीतिगत पक्षमा गहन छलफल र निर्णय लिन मद्दत पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्