images
images
  • जेन जी आन्दोलनबारे सेनाको १० बुँदे ब्रिफिङ

    काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका विषयमा करिब एक महिनाभन्दा बढी समयपछि शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

    घटनाको समग्र विश्लेषण, क्षति, उद्धार र सेनाको भूमिकामाथि उठेका केही प्रश्नका विषयमा समेत नेपाली सेनाको युद्धकार्य विभागका प्रमुख अनुपजंग थापा र निर्देशक मनोज थापाले सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

    जेन जी आन्दोलनमा टीओबीको भूमिकाबारे अध्ययन गर्दै नेपाली सेना

    भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा तिब्बतीयन ओर्जिनल ब्लड (टीओबी) समूहको भूमिकाबारे नेपाली सेनाले अध्ययन गरिरहेको जानकारी दिएको छ ।

    नेपाली सेनाको युद्धकार्य विभागका प्रमुख अनुपजंग थापाले जेन जी आन्दोलन भड्काउन मुख्य भूमिकामा देखिएको भनिएको टीओबीबारे सूचनाहरू सार्वजनिक भइरहेको र आफूले पनि अध्ययन गरिरहेको बताए ।

    शुक्रबार जंगी अड्डामा सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै विभागका प्रमुख थापाले भने, ‘यो (टीओबी) समूहबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा विभिन्न जानकारीहरू आएका छन् । हामी पनि अध्ययन गरिरहेका छौँ । यहाँहरूलाई पनि त्यसबारेमा कुनै सूचना छ भने उपलब्ध गराएर सहयोग गरिदिनुहोस् ।’

    ‘जेन जी आन्दोलनकारी संख्या र तीव्रता अनुमानभन्दा ठूलो’

    सेनाले भदौ २३ गतेको जेन जी आन्दोलनमा अन्य मुलुकको तुलनामा अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ । सेनाको युद्धकार्य प्रमुख थापाले जेन जी आन्दोलन अचानक र व्यापक भएकाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयनका लागि सुरक्षाको वस्तुपरक विश्लेषण गरी आवश्यकताको सिद्धान्तका आधारमा अघि बढेको जानकारी दिए ।

    त्यसपछिको परिस्थितिमा सेनाले न्यायपालिका, अन्य सुरक्षा निकाय र राष्ट्र सेवक कर्मचारीको सहयोग र समन्वयमा शान्ति र स्थिरता कायम राख्ने विषयमा सन्तुलित ढङ्गले कार्य गर्दै आएको बताए ।

    सोही विभागका निर्देशक मनोज थापाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न वस्तुगतढङ्गले आवश्यक पहल गरेको स्पष्ट पारे । आन्दोलनपछि अहिलेको अवस्था र परिणामबाटै सेनाको कस्तो खालको नियत रहेको थियो भन्ने आकलन गर्न सकिने बताउँदै उनले स्थिति सामान्यीकरण गर्न गरिएको बहुआयामिक प्रयासलाई वस्तुपरक ढङ्गबाट बुझ्ने र विश्लेषण गर्नुपर्नेमा जोड दिए ।

    ‘शान्तिपूर्ण निकासका लागि सबै पक्षसँग छलफल’

    सेनाको बहुआयामिक भूमिका रहेकाले अग्रपङ्क्तिमा रहेर नागरिकको जीवन रक्षा र उद्धारका कार्यमा खटिँदै आएको स्पष्ट पार्दै सहायकरथी थापाले सेनाले शान्तिपूर्ण निकासका लागि सबै पक्षसँग आवश्यक परामर्श गर्नुपर्ने आवश्यकता महसुस गरेर नै विभिन्न समूहसँग छलफल गरेको बताए ।

    उनले देश र जनहितका लागि अरु सबै सुरक्षा फौजसँग हातेमालो गरी काम गरिरहेको पनि जानकारी गराए । जेन जी आन्दोलनपछिको विषम परिस्थितिमा चुनावका लागि केही सुरक्षा चुनौती भए पनि क्रमशः शान्ति सुरक्षाको वातावरण बन्दै जाने विश्वास उनको थियो । चुनावका लागि सुरक्षासम्बन्धी रणनीतिक योजना तयार गरी क्रमशः कार्यान्वयन गरिँदै लगिने सहायकरथी थापाले स्पष्ट पारे ।

    ‘विमानस्थलमा आक्रमण गर्न जिलेटिन लिएर पुगेको समूहलाई रोक्यौँ’

    सेनाले आन्दोलनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर पुगेको समूहलाई आफूहरुले रोकेको जनाएको छ ।

    विभागका निर्देशक थापाले भने, ‘आन्दोलनको समयमा त्रिभुवन विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर पुगेको समूहलाई हामीले रोक्यौं । केही गरी विमानस्थलमा आक्रमण भएर बन्द हुने अवस्था आएको भए नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमै धुमिल हुने थियो ।’

    ‘९ सय ७८ थान हातहतियार लुटियो’

    सेनाले आन्दोलनका समयमा ९ सय ७८ थान हातहतियार लुटिएको जानकारी दिएको छ । त्यसमध्ये ५ सय ८६ थान हतियार फिर्ता भएको सेनाको भनाइ छ ।

    ‘१५ हजार ५ सय ८८ कैदीबन्दी फरार’

    सेनाले दिएको जानकारीअनुसार जेन जी आन्दोलनका क्रममा १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएका थिए । त्यसमध्ये ८ हजार ७ सय ९९ जना राज्यको नियन्त्रणमा आएको सेनाले जनाएको छ । तीमध्ये केही पक्राउ परेको र केही आफैँ फिर्ता भएका हुन् ।

    भौतिक संरचनामा कति भयो क्षति ?

    सेनाको विवरणअनुसार भदौ २४ गतेको तोडफोड र आगजनीमा सबैभन्दा धेरै सरकारी संरचनामा क्षति पुगेको छ । कुल ६ सय ८८ वटा सरकारी कार्यालयमा क्षति पुगेकोमा ३ सय ७ प्रहरी कार्यालय, २ सय ५९ निजी निवास, १ सय ९८ राजनीतिक दलका कार्यालय र १ सय २८ वटा व्यापारिक प्रतिष्ठानमा क्षति भएको छ ।

    ‘मृत्यु हुने प्रदर्शनकारी २२ जना, बाँकी अन्य’

    सेनाले आन्दोलनका क्रममा देशभर ज्यान गुमाउनेको संख्या कुल ७६ जना भए पनि प्रदर्शनकारीको संखया २२ जना मात्रै रहेको विवरण सार्वजनिक गरेको छ । त्यस बाहेक ३ जना प्रहरी, १० जना कैदी र ४१ जनालाई अन्यको सूचीमा सेनाले राखेको छ ।

    कति जनाको गर्‍यो सेनाले हवाई उद्धार ?

    सेनाले भदौ २४ गतेको आन्दोलनमा ६१ जना अति विशिष्ट व्यक्तिहरू (भीभीआईपी ) को हवाई उद्धार गरिएको जनाएको छ । साथै, नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको र जमिनबाट १२९ जनालाई उद्धार गरिएको सेनाले जनाएको छ ।

    ‘आगो निभाउन सेनाको दमकल पुगेको, तर आन्दोलनकारी पाङ्ग्रामा सुतेका कारण समस्या’

    सेनाले जेन जी आन्दोलनका क्रममा लागेको आगो निभाउन सिंहदरबारलगायतका स्थानमा समयमै दमकल पुगेको बताएको छ ।

    ‘हामीसँग भएका, सञ्चालनमा रहेका सबै दमकल प्रयोग गरेर आगो निभाएका हौँ, तर आन्दोलनकारीले गर्दा केही ढिला भएको हो,’  विभागका निर्देशक थापाले भने, ‘भदौ २४ गते दिउँसो २ बजे सिंहदरबारमा आगो लागेपछि हामीले दमकल लैजान खोजेका हौँ । तर, आन्दोलनकारी नै दमकलको पाङ्ग्रामा गएर सुतेपछि लगत्तै आगो निभाउन नसकिएको हो । तर, जसोतसो गरेर २ बजेर ३५ मिनेटमा सिंहदरबारमा पुगेर हाम्रो दमकलले आगो निभाउन सुरु गरिसकेको थियो ।’

    केहीबेरमा जंगी अड्डाको दमकल पनि पुगेर आगो निभाएको सेनाले जनाएको छ ।

    आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकलसमेत आएको सेनाले बताएको छ । ‘विभिन्न अवरोध तथा अन्य स्थानमा आगो निभाउन गएका कारण महानगरको दमकल साँझ ८ बजे आएको थियो । तर, बाहिर नराम्रो हल्ला आयो । स्पष्टसँग भन्छु- सेना र महानगरबीच सुरूदेखि समन्वय भएको थियो,’ थापाले भने ।

    भोलिपल्ट (भदौ २५) बिहान लगभग सबै स्थानका आगो निभाएको सेनाले जनाएको छ । ‘काठमाडौं उपत्यकामा १८ वटा दमकल छन् । त्यसमा ११-१२ वटा हामीले प्रयोग गरेका हौँ,’ सेनाको भनाइ छ ।

    अग्लो भर्‍याङ नहुँदा हिल्टन होटलको आगो निभाउन भने ढिलाइ भएको सेनाले बताएको छ ।

    साथै, शान्तिपूर्ण निकासका लागि सेनाले सक्दो प्रयास गरेको समेत बताएको छ । सिंहदरबारमा रहेका महत्त्वपूर्ण कागजात जोगाउन सेनाले सहयोग गरेको बताएको छ ।

     अब के गर्ने ?

    नेपाली सेनाले अब प्रतिनिधिसभा निर्वाचनको विकल्प नभएको र त्यसका लागि राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने बताएको छ । ‘अहिलेको अवस्थामा शान्तिपूर्णरुपमा चुनाव गराउन चुनौती छ, तर चुनावको विकल्प छैन । त्यसका लागि राजनीतिक दलको सहयोग आवश्यक छ,’ विभाग प्रमुख थापाले भने ।

    शान्ति सुरक्षाका लागि गृह मन्त्रालयले योजना बनाएको र अब त्यो कार्यन्वयनमा जाने सेनाको भनाइ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै