काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा अवस्थित छ । यस प्रणालीको साथै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको दोहोरो प्रभावले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिबाट भने मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ ।
हाल देशभर सामान्यदेखि अधिकांश स्थानमा बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसोको पूर्वानुमान: कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । यसका साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विशेषगरी, कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना पनि उत्तिकै छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बाँकी उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भने भारी हिमपातको समेत सम्भावना रहेको छ ।
आज रातिको पूर्वानुमान: कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानमा र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि औँल्याइएको छ । उच्च हिमाली भेगमा हिमपातको निरन्तरता रहनेछ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहण, कृषि, पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्