काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले सर्वसम्मत रूपमा गरेको हो । कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए ।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । त्यसअघि नै सरकारले नयाँ आईजीपीको नियुक्ति गरेको हो ।
२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । त्यसअघि, २३ भदौमा उपत्यका कमाण्ड एआईजीविहीन बनेको थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनले प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुखका रूपमा काम गरेका थिए ।
डीआईजी पदमा रहेर उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए भने एसएसपीका रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गर्दा चर्चित भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।
चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यका प्रहरी कमाण्डसम्मको नेतृत्व सम्हालेका कार्की इमान्दार र अनुशासित प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । कुनै आर्थिक विवादमा नपरेका उनले फिल्डदेखि आईजीपी सचिवालयसम्मका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् ।
विदेशमा विभिन्न तालिम लिइसकेका कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पनि रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्