images
images
  • मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित नेताहरू पुगे सर्वोच्च

    काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर उत्पन्न राजनीतिक विवादले नयाँ मोड लिएको छ ।

    तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलहरू सर्वोच्च अदालत पुगेका हुन् ।

    ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित उनीहरूले संवैधानिक प्रावधानको अपव्याख्या र प्रक्रियागत त्रुटिको दाबी गर्दै रिट निवेदन दर्ता गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव (हालका मुख्यमन्त्री सरोज यादवभन्दा फरक व्यक्ति), माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई र लोसपा संसदीय दलका नेता जयलुन राइन लगायतका शीर्ष नेताहरू रिट निवेदनका लागि सर्वोच्च अदालत पुगेका छन् ।

    उनीहरूलाई मधेस प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले कानुनी सहायता प्रदान गरेका छन् । दलहरूले आइतबार राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आफूहरूलाई छलेर सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् । यस नियुक्ति प्रक्रियामा गम्भीर प्रश्न उठाइएको छ ।

    विशेष गरी सोमबार बिहान विरामी भएको बहाना बनाउँदै काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराइएको घटनाले थप आक्रोश उत्पन्न गरेको छ । यसरी गोप्य रूपमा र होटलमा शपथ गराइनुले संवैधानिक मर्यादाको उल्लङ्घन भएको दलहरूको तर्क छ ।

    यस प्रकरणमा विवादित बनेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार पदमुक्त गरेका छन् । यद्यपि, उनको पदमुक्तिले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा उठेका कानुनी र संवैधानिक प्रश्नहरूको निरूपण भने भएको छैन । मधेस प्रदेशमा हालको राजनीतिक गतिरोधले संवैधानिक सङ्कटको अवस्था निम्त्याएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै