काठमाडौं । देशको शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि र भड्काउपूर्ण अभिव्यक्तिका कारण चर्चामा रहेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै कडा निगरानी गरिरहेका प्रसाईंलाई पक्राउ गरिएको हो ।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकमा प्रसाईंका गतिविधिलाई गम्भीरतापूर्वक लिँदै कारबाहीको दायरामा ल्याउनेबारे गहन छलफल भएको थियो । बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले प्रसाईंका अभिव्यक्तिले समाजमा त्रासको वातावरण सिर्जना गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । विशेषगरी ‘दूतावासमा बम पड्काएर आफूतिर आरोप लगाइदिनसक्छन्’ र ‘देशै ठप्प हुन्छ’ भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले अत्यन्तै गम्भीरताका साथ लिएको थियो ।
सुरक्षा समिति बैठकले प्रसाईंको नाम उल्लेख नगरी हिंसा भड्काउने, जनतालाई आतंकित पार्ने गतिविधि गर्ने जो कोहीलाई पनि कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । मन्त्रालयका एक अधिकारीका अनुसार उक्त निर्णय दुर्गा प्रसाईंका अभिव्यक्तिलाई नै लक्षित गरी गरिएको थियो । केही दिनअघि गृहमन्त्री अर्यालले समेत प्रसाईंसहितका व्यक्तिका अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको सार्वजनिक रुपमा बताएका थिए ।
प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेपछि गृह प्रशासनले उनलाई छलफलका लागि बोलाएको थियो । प्रसाईंका प्रतिनिधि माधव खतिवडासहितको समूहले मन्त्रालयमा २६ बुँदे मागपत्र पेस गर्दै आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएको थियो । तर, उक्त प्रतिबद्धता विपरीत प्रसाईंले निरन्तर भड्काउपूर्ण अभिव्यक्ति दिँदै आएपछि प्रहरीले कडा कदम चालेको हो ।
मध्यराति उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । सोमबार दिउँसोसम्म उनले आफैं गिरफ्तारी दिने दाबी गरे पनि अन्ततः प्रहरीले उनलाई उनको निवासबाटै पक्राउ गरेको हो । हाल उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।
प्रहरीले उनलाई कुन कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउने भन्नेबारे भने टुंगो लगाइसकेको छैन । मंगलबार सरकारी वकिलसँग सल्लाह गरी उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्