images
images
  • एमालेबारे जेन-जीले प्रधानमन्त्रीलाई भने : प्रतिक्रान्ति गर्न दमनकारी सल्बलाए, नियन्त्रण गर्नुस्

    काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेन-जी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन्।

    सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने अडान राखेका छन् ।

    उनीहरूले भदौ २३ र २४ गते भएको आन्दोलनका दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरू सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाए।

    पछिल्लो समय नेकपा एमालेले सहरदेखि गाउँसम्म आफूलाई सक्रिय बनाएपछि जेन-जीहरू आक्रोशित भएका छन् । एमालेको सक्रियता बढ्दा बाराको सिमरामा ठूलो तनाव भएको छ।

    यता एमालेले शुक्रबार पनि ठूलो प्रदर्शन गरेको छ। एमालेले शनिबार पनि काठमाडौंमा अर्को प्रदर्शन तयारी गरेको छ । जेन-जी आन्दोलनका क्रममा सरकारको नेतृत्व गरेको एमालेको सक्रियताले जेन-जीहरू तनावमा देखिएका छन् ।

    प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताएकी छन् ।

    जेन-जी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्न रहन पनि उनले बताइन्।

    कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन उनले आग्रह गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिन आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरूलाई सुझाव दिएकी छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै