images
images
  • सरकार, दल र ‘जेनजी’लाई सच्चिन नागरिक समूहको अपिल

    काठमाडौं । बाराको सिमरामा देखिएको तनावपूर्ण स्थितिले मुलुकलाई अनावश्यक मुठभेड र संकटतर्फ धकेल्न खोजेको भन्दै नागरिक समूहले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

    आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको मुखैमा देखिएका यस्ता अराजनीतिक गतिविधिले लोकतन्त्र नै धरापमा पर्न सक्ने भन्दै समूहले सरकार, राजनीतिक दल र ‘जेनजी’ (युवा जमात) तीनै पक्षलाई तत्काल संयमित हुन अपिल गरेको छ ।

    समूहका अध्यक्ष विष्णुहरि दाहालद्वारा जारी विज्ञप्तिमा सिमरा विमानस्थलजस्तो अति संवेदनशील क्षेत्रमा भएको तोडफोड, भिडन्त र कर्फ्यूको अवस्थालाई लोकतान्त्रिक प्रक्रियामाथिको प्रहार भनिएको छ ।

    विज्ञप्तिमा ‘जेनजी’ का नाममा कुनै पनि राजनीतिक दललाई निषेध गर्न खोज्नु र दलहरूले पनि त्यसको प्रतिवादका नाममा शक्ति प्रदर्शन गर्नु दुवै लोकतान्त्रिक आचरण नभएको ठहर गरिएको छ । ‘कुनै दललाई लक्षित गरी निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘दलहरूले पनि प्रतिवादका नाममा तनाव थप्ने काम गरे सुरक्षा अवस्था जटिल बन्ने मात्र होइन, फागुन २१ मा शान्तिपूर्ण निर्वाचन गराउनु असम्भव हुन सक्छ ।’

    नागरिक समूहले गत भदौ २३ र २४ को आन्दोलनले संविधानको रक्षा गर्दै आर्जन गरेको सकारात्मक छविलाई हिंसा र बदलाको भावनाले धमिल्याउन सक्नेतर्फ ‘जेनजी’ समूहलाई सचेत गराएको छ । चुनाव घोषणा भइसकेको अवस्थामा दलहरू जनतामा जानु र विचार राख्नु संवैधानिक हक भएको स्मरण गराउँदै समूहले उक्साहट र भिडन्तको बाटो त्याग्न दलहरूलाई पनि आग्रह गरेको छ ।

    यदि शान्तिपूर्ण वातावरणमा चुनाव हुन नसके देश राजनीतिक शून्यतामा जाने र त्यसको दुष्परिणाम सबै पक्षले भोग्नुपर्ने चेतावनी नागरिक समूहले दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सबै पक्ष संयमित भई संवाद र संवैधानिक मार्गबाटै निकास खोज्न अत्यावश्यक छ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै