images
images
  • अमेरिकी बहिष्कारका बीच G20 शिखर सम्मेलनको घोषणापत्र पारित

    एजेन्सी । दक्षिण अफ्रिकाको जोहानसबर्गमा सम्पन्न G20 शिखर सम्मेलनले अमेरिकी बहिष्कार र कडा आपत्तिका बाबजुद घोषणापत्र  पारित गरेको छ।

    शनिबार पारित गरिएको घोषणापत्रमा  जलवायु संकटसहितका विश्वव्यापी चुनौतीहरूलाई समेटिएको छ  ।

    घोषणापत्र अमेरिकाको सहभागिता वा सुझावबिना नै तयारी गरिएको थियो, जसलाई लिएर व्हाइट हाउसले दक्षिण अफ्रिकामाथि G20 नेतृत्व ‘अस्त्र’ बनाएको आरोप लगाएको छ।

    दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ता विन्सेन्ट म्याग्वेन्याले अमेरिकाले अस्वीकार गरे पनि एक वर्षको तयारी र पछिल्लो साता भएको तिव्र कूटनीतिक प्रयासपछि घोषणा पत्र पारित गरिएको बताए । उनले भने, ‘यो घोषणापत्र पुनः वार्ताका लागि खुला छैन।”

    तर केही घण्टामै व्हाइट हाउसले प्रतिक्रिया दिंदै रामाफोसामाथि G20 को नेतृत्व हस्तान्तरण सहज बनाउन नचाहेको आरोप लगायो। अमेरिकाले दक्षिण अफ्रिकाले ‘खाली कुर्सी’लाई अध्यक्षता बुझाउने संकेत दिएको दाबीसमेत गर्‍यो।

    व्हाइट हाउसकी प्रवक्ता अन्ना केलीले भनिन्, ‘दक्षिण अफ्रिकाले निरन्तर अमेरिकी आपत्तिका बाबजुद घोषणापत्र अगाडि बढाउँदै G20 को मूल भावना कमजोर बनाएको छ।’ उनका अनुसार, आगामी वर्ष अमेरिकाले अध्यक्षता सम्हालेपछि समूहको ‘वैधता पुनःस्थापन’ गर्नेछ।

    राष्ट्रपति रामाफोसाले उद्घाटनका क्रममा भने, ‘हामीले पहिलो अफ्रिकी G20 अध्यक्षताको महत्व, प्रभाव र गरिमालाई कुनै पनि कारणले कमजोर हुन दिनु हुँदैन।’

    ट्रम्प प्रशासनले दक्षिण अफ्रिकाको अश्वेत–बहुल सरकारद्वारा श्वेत अल्पसंख्यकमाथि गरिएको दमनबारेका दाबीलाई आधार मानेर शिखर सम्मेलन बहिष्कार गरेको हो।

    अर्जेन्टिना अन्तिम बैठकमा नआए पनि दक्षिण अफ्रिकाले यो निर्णयका लागि पर्याप्त सहमति भएको दाबी गरेको छ ।

    उत्तेजित भू–राजनीतिक वातावरणबीच G20 बसिरहेको बेला रूस–युक्रेन युद्ध र ब्राजिलमा भइरहेका COP30 जलवायु वार्ताले विश्व शक्तिहरूबीच तनाव बढाइरहेका छन्।

    जापानी अधिकारी माकी कोबायासीले G20 को विविधताले चुनौती ल्याउने भए पनि साझा मार्ग निकाल्नु आवश्यक रहेको बताए ।

    दक्षिण अफ्रिकी विदेशमन्त्री रोनाल्ड लामोलाले भने, ‘G20 कुनै एक देशका लागि होइन। हामी सबै बराबरी सदस्य हौँ, र उपस्थित सदस्यहरूले विश्वलाई कुन दिशामा लैजानुपर्छ भन्ने निर्णय गरेका छन्।’

    अमेरिकी राष्ट्रपति ट्रम्पले विकासशील मुलुकलाई जलवायु प्रभाव घटाउन सहयोग गर्ने र  स्वच्छ ऊर्जामा रूपान्तरण तथा ऋणभार कम गर्ने दक्षिण अफ्रिकाको एजेन्डालाई अस्वीकार गरेका थिए। रोयटर्सबाट

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै