images
images
  • निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः प्रमुख आयुक्त भण्डारी

    काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन् ।

    निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा आज कुरा गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोही अनुसार काम भइरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताए ।

    उनले आजै प्रधानमन्त्री सुशीला कार्कीले डाक्नुभएको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा आयोगले निर्वाचनका लागि आयोग तत्पर रहेको स्पष्ट राखेको बताए ।

    ‘हामीलाई बजेटको केही अपर्याप्तता थियो । अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ’, कार्यबाहक प्रमुख आयुक्त भण्डारीले भने ‘अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ । यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ ।’

    निर्वाचनका लागि आयोगले करिब रु सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ । आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आव्हान गरेको छ । यसअघि यही मङ्सिर १४ गते सम्ममा निर्वाचनमा भाग लिने १२० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् ।

    यसैबीच राससले आफ्ना नियमित बुलेटिनमा निर्वाचनको दिनगणना (काउण्टडाउन) सहित समाचार र सामग्रीहरु महत्व दिन थालेकामा आभार व्यक्त गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण सृजनाका लागि राससजस्ता सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै