‘समृद्ध वडा, सुखी सम्पन्न कर्थलीबासी बनाउनेछु’: वडाध्यक्ष रेशम तामाङ

बैशाख ३० मा सम्पन्न ०७९ स्थानीय तह निर्वाचनमा बाह्रबिसे नगरपालिका वडा २ मा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार रेशम तामाङ भारी मत ल्याएर बिजयी भए । उनले निकटतम प्रतिद्वन्द्धी एमालेका जितबहादुर तामाङलाई ८४ मतान्तरमा हराए । वडा अध्यक्ष तामाङले ७८४ मत ल्याएका थिए । बाह्रबिसे नगरका कांग्रेसका निवर्तमान सभापति रहेका तामाङ कांग्रेसका जुझारु र समाजसेवी उर्जाशिल नेताको रुपमा चिनिन्छन् ।

बाह्रबिसे नगर २ कर्थलीको दुर्गम भेगका भिमबहादुर तामाङ र चन्द्रमाया तामाङको कोखबाट २०२७ सालमा जन्मिएका तामाङ बहुदल प्राप्तिसगै कांग्रेस राजनीतिमा सक्रिय रह“दै आएका थिए । ०५६ सालमा कांग्रेसको क्रियाशिल सदस्य पाएका उनले १२ औ जिल्ला अधिवेशनमा साबिकको कर्थलीमा एकाई सभापति हुन सफल भएका थिए । कांग्रेस संगठन सुदृढीकरण र विस्तारमा अहोरात्र खटिएपछि कांग्रेसको १३ औ अधिवेशनमा उनी क्षेत्रिय कोषाध्यक्ष समेत भए । बढ्दो लोकप्रियताका कारणले १४ औ अधिवेशनअघि समायोजनमा बाह्रबिसे नगर सभापति भएका थिए । तामाङको लगाव र मेहनतलाई देखेर कांग्रेसले यही स्थानीय तहको चुनावमा वडाध्यक्षको उम्मेद्वार बनायो, उनले जितेर देखाए । वडाध्यक्षमा निर्वाचित भएका रेशमले आफ्नो वडालाई समृद्ध बनाउन बृहत खाका र योजना तैयार गरेका छन् । यही विषयमा उनसँग गरिएको संवाद संक्षेप ।

१) वडाध्यक्षमा निर्वाचित हुनुभयो, अब वडालाई कसरी हाक्नुहुन्छ ?
सर्वप्रथमत अमुल्य मत दिएर जिताउने सम्पूर्ण मतदाता र वडाबासीलाई धन्यवाद दिन चाहान्छु । मलाई योग्य सम्झिएर टिकट दिने हाम्रा कांग्रेसका अभिभावक केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, कांग्रेसका बाग्मती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, क्षेत्र न १ का सभापति तथा नवर्निवाचित मेयर बालकृष्ण बस्नेतलगयातका सम्पूर्ण अग्रज नेतालाई आभार प्रकट गर्दछु ।
म वडाबासीलाई सुखी र वडालाई समृद्ध बनाउन शिक्षा, स्वाथ्य खानेपानी, विधुतीकरण, सडक, सिचाई, कृषि आधुनिकीकरणसहित विपन्नको जिवनस्तर उकास्ने कार्यक्रम ल्याउनेछु । वडाबासीको सल्लाह, सहभागिता र जनमैत्री योजनाअनुरुप वडाबाट बजेट र विकासे कामलाई अघि बढाएर वडालाई समृद्ध बनाउनेछु ।

२) कृषिमा के गर्नुहुन्छ ?
हाम्रो बाह्रबिसे नगरपालिका-२ कर्थली लेकक्षेत्रमा गनिन्छ । यहाँ व्यवसायिक रुपमा तरकारी खेती, नगदे बालीजस्ता अन्य खेतीको व्यापक संम्भावना छ । त्यहीअनुरुप आलु खेती, काउली, बन्दा, खुर्सानीजस्ता लगायतका तरकारी खेतीलाई व्यवसायिक बनाउन विभिन्न अनुदान दिनेछौ । परम्परागत खेतीलाई कृषि आधुनिकीकरणमा बदलेर मल बिउबिजन र अभाव भइरहने समस्यालाई हटाउन रासयानिक मल समयमै गाउँमै उपलब्ध गराउनेछौ । पशुपालनमा व्यवसायिककरण गर्न अनुदानसहित विभिन्न योजना ल्याउनेछौ । पानी अभाव भएका भेगमा सिचाँई र कुलो बनाउनेछौ । जसमा साबिक २ काभ्रे सिचाँइ कुलो निर्माण, ३ मा खारेखोला बुदेपा सिचाँइ कुलो निर्माण, साबिक १ देखि ९ सम्म तोम्ममार कुलो सिचाँइ निर्माण गरेर कृषिक्षेत्रबाटै आर्थिकस्तर उकास्ने योजना छ ।

३) वडाक्षेत्रको विकासको लागि सडक, खानेपानी र बिजुली धेरै महत्वपूर्ण हुन्छ ,यसमा के के गर्नुहुन्छ ?
साबिक ४ को जिरेल गाउँको कृषि सडक, बगर काभ्रे दुरुम्थली रिभार टिमुरे कृषि सडक, पोखरे गुम्बा डाडा कृषि सडकलाई स्तरोन्नती गरेर बाह्रै महिना संञ्चालन गर्नेछु । राजमार्ग अन्र्तगत बतासे कर्थली दोलंसा बिगु सडकलाई ग्राभेल र कालोपत्रे गर्नेछु । बाह्रबिसे, बुदेपा, घोर्थली सडकलाई ग्राभेल र कालोपत्रे गर्नेछु । यी काम संघ र प्रदेश सरकारसँग सहकार्य र समन्वय गरेर गर्नेछौ । बगरदेखि झ्याङतान्सम्मको गोरेटो बाटो, बुदेपादेखि पोखरेसम्मको गोरेटो बाटो स्तरोन्नती गर्नेछौ । स्थानपिच्छै अनुकुल हेरेर प्रतिक्षालय, खानेपानी, सार्वजनिक शौचालय बनाउनेछौ । एक घर–एक धाराको अवधारणाअनुरुप कार्यक्रम ल्याउनेछौ । बस्तीबस्तीमा सोलारबत्ती जडान, घरपिच्छै बिजुली जडान हुनेछ ।

४) शिक्षा, स्वास्थ्य र खेलकुदमा के गर्नुहुन्छ ?
शिक्षाबाट कुनै पनि बालबालिकालाई बञ्चित हुनबाट रोक्न बालबालिकालाई विधालय पु-याउने अभियान थाल्नेछौ । ‘साक्षर र शिक्षित कर्थली’ नारा लिएर साक्षरता कार्यक्रम अघि सार्ने र साक्षर वडा घोषणा गर्नेछु ।

नेपाल राष्ट्रिय मावि, सुनकोसी मावि, ईश्वरीमाला आवि, कुम्भेश्वरी आवी, सेतिदेवी माविलगायतका सबै विधालयलाई भवन पूनर्निर्माण मर्मतसंम्भार गरिनेछ । विधालयको शैक्षिक गुणस्तर उकास्ने कार्यक्रम अघि सार्न विज्ञ र अन्वेषकसँग आवश्यक छलफल गर्नेछौ । विपन्न र जेहेन्दार बालबालिकालाई विधालयमा टिकाइराख्न बृहत योजना ल्याउनेछौ ।

बालबालिकालाई शारिरीक तन्दुरुस्तीका लागि तेक्वान्दो, कबड्डी, म्याराथुनलगायतका खेललाई उच्च प्राथामिकता दिदैं खेलमैदान बनाउनेछौ । स्वास्थ्यमा प्रत्येक स्वास्थ्य चौकीको पुनर्निर्माण गरेर एउटा एम्बुलेन्स र एक्स रे मेसिन खरिद गर्नेछौ । सुत्केरीलाई ५ हजार पोषण भत्ता, दिर्घरोगी, क्यान्सर पीडित, मुटु रोगी, मृगौला जस्ता गम्भिर प्रकृतिका बिरामीलाई वडाले सकेको सहयोग गर्ने र सहयोग जुटाइदिनेछौ । प्रत्येक जेष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता पु-याउने, जेष्ठ नागरिको सम्मानको लागि चौतारी, पाटीपौवा बनाउनेछौ । स्वास्थ्य क्षेत्रमा गुणस्तरिय स्वास्थ्य सेवा, दक्ष जनशक्ति बढाएर औषधी अभाव हुन दिने छैनौ ।

५) वडाबासीको आयआम्दानी उकास्न र रोजगारी बढाउन के कार्यक्रम छ ?
समृद्ध वडा–सुखी सम्पन्न कर्थलीबासी भन्ने मुल उदेश्यकासाथ महिला, दलित र विशेष गरी युवा लक्षित स्वरोजगार कार्यक्रम ल्याएका छौ । जसमा बाख्रा, कुखुरा, भैसी, भेडाच्यांग्राको व्यवसायिकरण गराउन अनुदान दिनेछौ । वैदेशिक यात्रा छोडेर गाउँम केही गर्न चाहने युवालाई प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउने कार्यक्रम अघि सारेका छौ । घट्दै गइरहेको जिल्लाको दुर्लभ याक, चौरी र डिमु पालकलाई अनुदान दिनेछौ । महिला लक्षित गलैचा बुन्ने, गार्मेण्ट उद्योग, सिलाइबुनाइ, आरन सुधारजस्ता आयमुलक, सिपमुलक पेशा व्यवसायलाई प्रवद्र्धन तथा आधुनिक बनाउनेछौ ।

६) सामाजिक क्षेत्रमा तपाईको लक्ष्य के-के छन् ?
साबिक कर्थलीभर दर्जनौ पुराना अगुवा र प्राचिन मठमन्दिर, गुम्बा, मानेछ्योर्तेन, स्तुपा छन् । जसको मर्मतसंम्भार र आवश्यक पुनर्निर्माण हुन सकेको छैन् । यसक्षेत्रमा मुख्य लक्ष्य सबै धर्मप्रति सद्भाव राख्दै यी पुरातात्विक महत्व बोकेका स्थलको संरक्षण र प्रवद्र्धन गर्नेछौ । यहाँ भएका चर्चलाई पनि सहयोग गर्नेछौ । जनसहभागिता र अगुवाइमा भौतिक पूर्वाधार र विकास निर्माणको कामलाई अघि सार्नेछौ । अनुशासित स्थानीय सरकार अनुशासित वडाबासी भन्ने अभियानलाई पुरा गर्ने मेरो प्रतिबद्धता छ । धार्मिक पर्यटन र यहाको सुन्दर भुगोलमा पर्यटक भित्राएर यहा समृद्धी ल्याउन हाम्रो सबै प्रयत्न रहनेछ । होम-स्टे अबधारण अन्र्तगत काम गर्नेछौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button