एमसीसीमा आवश्यक स‌ंशोधन गरी अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपालमा विवादित बनेको अमेरिकी अनुदान सहयोग सम्झौता (एमसीसी) संसदबाट अनुमोदन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपाा) पनि तयार भएको छ ।

गत असार १० गतेदेखि शुरु भएर शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले एमसीसी सम्झौतालाई सदनको नियमित प्रक्रियामा लगेर अनुमोदन गर्ने निर्णय गरेको हो ।

तर, त्यस अगाडि आवश्यकता अनुसार संशोधन र परिमार्जनका लागि पहल गर्ने स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने निर्णय भएको जानकारी दिए ।

अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको १५ बुँदे प्रस्तावमै उल्लेख भएअनुसार स्थायी कमिटी बैठकले एमसीसीलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।

अध्यक्षद्वयले बैठकमा पेश गरेको प्रस्तावमा एमसीसीबारे भनिएको थियो, ‘नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट संझौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोश्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट संझौता र सो सम्वन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।’

एमसीसी सम्झौतामा भएका कुन–कुन विषयलाई परिमार्जन गर्ने भन्ने विषयमा भने झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार पार्टीमा छलफल गरी निर्णय लिइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button