एक महिनामा २ अर्ब बजेट खर्च, पुँजीगत खर्च १३ करोडमात्र, १५ खर्ब कसरी सकिएला ?

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो महिनामा निकै कम बजेट खर्च भएको स्वीकारेको छ । मन्त्रालयका अनुसार साउनमा १ अर्ब ९८ करोड रुपैयाँमात्र बजेट खर्च भएको छ जुन पछिल्लो ५ वर्षयताकै सबैभन्दा कम खर्च हो ।
मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनमा देशको अर्थतन्त्रका परिसूचक मिश्रित रहेको बताइएको छ ।
तर, बजेट खर्चको अवस्थाले खर्च प्रशासनको दयनीय अवस्था झल्काउँछ । साउनमा पुँजीगत खर्च भने जम्मा १३ करोड रुपैयाँमात्र छ ।
साउनको बजेट खर्च पछिल्लो ५ वर्षकै सबैभन्दा कम हो । २०७३ साउनमा साढे ६ अर्ब रुपैयाँ बजेट खर्च भएकामा २०७४ मा ६८ अर्ब खर्च भएको थियो । त्यसयता २०७५ साउनमा २६ अर्ब र २०७६ साउनमा सवा ४ अर्ब बजेट खर्च भएको थियो ।
मन्त्रालयले बन्दाबन्दी तथा निषेधाज्ञाका कारण विकास निर्माणका कामहरु नियमित र पूर्व लक्ष्यित समयमा हुन नसकेकाले पुँजीगत खर्च हुन नसेकेको बताएको छ ।
चालू आवमा सरकारले पौने १५ खर्ब रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको छ । साउनमा भएको खर्च कुल विनियोजनको ०.१३ प्रतिशतमात्र हो । अर्थात् लक्ष्यअनुसार खर्च गर्न बाँकी ११ महिनामा पहिलो महिनाको भन्दा साढे ७ सय गुणा बढी खर्च गर्नुपर्ने हुन्छ ।
मन्त्रालयले वैदेशिक सहायता प्रतिवद्धता, आयकर संकलन, वैदेशिक व्यापारमा निर्यातको अंश बढेको भन्दै अर्थतन्त्रका परिसूचक भने मिश्रित रहेको बताएको छ । तर, यसबीचमा राजस्व संकलन १२ प्रतिशतले गिरावट आएको छ भने विप्रेषण आप्रवाह पनि घटेको छ । आयात घट्दा चालु खाता घट्नुका साथै शोधनान्तर स्थिति नाफामा हुँदा विदेशी विनिमय सञ्चिति बढेकाले परिसूचक मिश्रित रहेको अर्थको जिकिर छ ।
मन्त्रालयको तथ्यांकअनुसार साउनमा भन्सार महसुल अघिल्लो वर्षको तुलनामा १०.३ प्रतिशत कम संकलन भएको छ । यस्तै मुअ कर १७.४ प्रतिशत, अन्तःशूल्क १७.१ प्रतिशत र अन्यकर ५६.८ प्रतिशतले घटेको छ । गैरकर ३४ प्रतिशतले घट्दा आयकर भने ८.३ प्रतिशत बढी संकलन भएको अर्थको तथ्यांक छ ।