जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन् ।
शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए ।
उनले काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘ ‘काठमाडौँ महानगर परिवारको रूपमा छ, परिवार नै रहने छ । हामी सबै मिलेर अब काठमाडौँलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु ।’
स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन् ।उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।