मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको १४ करोड फ्रिज, बिएससी नर्सिङ र एमबिबिएसको पढाइ हुनेमा शंका

हेटौँडा, २४ जेठ । बागमती प्रदेशको ‘गौरव’ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोचेजस्तो गति लिन सकेको छैन । अघिल्लो वर्ष ६ करोड रुपैयाँ अनियमितता तथा ३ करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा नै अख्तियारमा परेको प्रतिष्ठानले यस वर्षदेखि सञ्चालन गर्नु पर्ने बिएससी नर्सिङको पढाइ पनि आरम्भ गर्न सकेन ।

यति मात्र होइन, प्रदेश सरकारबाट पाइएको वार्षिक बजेटसम्म लिन प्रतिष्ठान असमर्थ देखिएको छ । यस आर्थिक वर्षका लागि २० करोड रुपैयाँ बजेट प्रदेश सरकारले उपलब्ध गराए पनि प्रतिष्ठानले कछुवाको गति लिँदा १४ करोड रुपैयाँ फ्रिज भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई रकम उपलब्ध गराउन चासो दिएन भने प्रतिष्ठानको उपकुलपति डा. विश्वराज जोशीले पनि प्रतिष्ठानलाई गति दिन नसकेको प्रतिष्ठानमै चर्चा भइरहेको छ ।

आर्थिक वर्ष सकिन केही हप्ता मात्र बाँकी छ, २० करोड रुपैयाँ बजेट भएको प्रतिष्ठानले अघिल्लो ३ महिना त तलब खुवाउनसमेत हम्मेहम्मे भयो । फागुन, चैत र वैशाख महिनाको तलब केही दिन अघि कर्मचारीले पाएका छन् । पहिलो पटक ३ करोड लिएको प्रतिष्ठानले पछिल्लो पटक ३ करोड रुपैयाँ पाएपछि कर्मचारीले तलब पाएका हुन् ।

यसैगरी, अनुगमन भइसक्दा पनि प्रतिष्ठानका तर्फबाट हुनु पर्ने सक्रियता नदेखाइँदा यसवर्षदेखि शुरु हुने बिएस्सी नर्सिङको पढाइ प्रभावित भएको छ । हेटौँडामै बिएससी नर्सिङ पढाइ हुँदा जनताका ४० जना छोरी ७५ प्रतिशत सम्म अनुदानमा पढ्न पाउने थिए । तर, प्रतिष्ठानकै पदाधिकारीको लापरवाहीले हेटौँडाले एउटा ठूलो अवसर गुमाएको छ । यही चाल हो भने, एमबिबिएसको पढाइ हेटौँडामा होला र भनेर चिन्ता गर्ने बेला भएको छ ।

खासगरी, डोरमणि पौडेल नेतृत्वको सरकारका पालामा नियुक्त उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानको कामलाई चुस्तसँग सम्पादन गर्न नचाहेपछि समस्या भएको प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् । २०७७ साउन १४ गते ४ वर्षका लागि नियुक्त जोशीलाई २०७९ वैशाख १२ गते निलम्वन गरिएको थियो । मुख्यमन्त्री तथा कुलपति राजेन्द्र पाण्डेको नेतृत्वमा छानबिन समिति गठन भएपछि निलम्वित हुनु भएका जोशी अदालतको ‘स्टे अर्डर’बाट वैशाख २२ पछि प्रतिष्ठान फर्कनु भएको हो । प्रदेश सरकारले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै प्रतिष्ठानको ऐन २०७६ को दफा २४ को उपदफा (१) प्रतिष्ठानका कुलपति मुख्यमन्त्रीसमक्ष सभामा कायम रहेका एक चौथाई सदस्यले निवेदन दिएपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले कानुन सचिव विनोदकुमार भट्टराईको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य निर्देशनालयका निर्देशक सदस्यहरू रहेको समिति समेत गठन गरेर निलम्वन गर्नु भएको हो ।

आफूलाई मुख्यमन्त्री पाण्डेले पटकपटक राजिनामा दिन दबाब दिएको बताउँदै राजीनामा नदिई बस्नु भएका जोशी कार्यालयमा दैनिक २ घण्टा पनि बस्नुहुन्न । उहाँ नै कार्यालयमा नभएपछि नियुक्त रेक्टर र रजिस्ट्रारले कुनै पनि काम उपकुलपतिसँग संयोजनविना गर्न सक्दैनन् भने रजिस्ट्रार राजेश प्रसाईं हेटौँडा अस्पतालको अध्यक्ष पनि बनाइएपछि झन कामकाज प्रभावित भइरहेको छ । यसवर्ष परीक्षासमेत ढिलो भयो ।

नियुक्तिलगत्तै कोरोनाले देशलाई सताए पनि पछिल्लोपटक सरकारले दिएको बजेटसमेत व्यवथापन गर्न नसक्ने प्रतिष्ठान नेतृत्वमाथि हेटौँडाले प्रश्न उठाउनु पर्ने भएको छ । कसैलाई मानका खातिर पद दिएर हेटौँडामा स्वास्थ्य संस्था स्थापनासमेत गर्न नसक्ने नेतृत्व किन डोरमणि पौडेलले रोजे ? प्रश्न उब्जिएको छ । अर्कातर्फ सरकारलाई काम गर्न पनि नदिने र अदालतबाट फर्केपछि काम पनि नगर्ने भनेर उपकुलपति जोशीको आलोचना शुरु भएको छ । उपकुलपतिले जवाफ दिनु पर्ने बेला आएको छ ।

यसवर्ष हेटौँडामा बिएससी नर्सिङ शुरु भएको भए अर्को वर्ष एमबिबिएस पढ्न हेटौँडा आउनेको लर्को हुने थियो तर प्रतिष्ठानले प्रदेश सरकारको नीति तथा कार्यक्रम अंगीकार गर्दै बजेटसमेत सकार्न सकेन । यसले कतै हेटौँडामा स्वास्थ्य विज्ञान प्रतिष्ठान असफल बनाउन खोजिएको र त्यसमा नियुक्ति गर्ने र नियुक्ति खानेहरु नै लागेको त होइन भन्ने प्रश्न उब्जिएको छ ।

अदालतको आदेशबाट फर्कनु भएका उपकुलपछि जोशीले कतै मुख्यमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिवसँग समन्वय गर्न नसकेर पो प्रतिष्ठानको १४ करोड बजेट फ्रिज गराउनु भयो कि ? झट्ट हेर्दा उपकुलपतिको कार्यक्षमतामा प्रश्न उठे पनि यसमा कुलपति, सहकुलपतिले पनि नसोच्ने हो भने हेटौँडामा सरकारी मेडिकल कलेजमा पढ्ने बागमती प्रदेशका जनताको छोराछोरीको सपना धूलिसात हुनेछ ।

सकारात्मक सन्देश दिउँः उपकुलपति जोशी
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठान शुरुवाती चरणमा रहेकाले यसको सकारात्मक सन्देश प्रवाह जरुरी भएको बताउनु हुन्छ ।

कुराकानीक्रममा जोशीले भन्नुभयो, ‘भौतिक पूर्वाधार बनाउने काम रोकिएको हो, यद्यपि कतै ५२ करोडको, कतै २३ करोडको पूर्वाधारको ठेक्का भएका छन्, काम अघि बढ्छ, गति पाउँछ ।’

उहाँले सरकारले वर्षमा दुईपटक परीक्षा लिने व्यवस्था गरेकाले अहिले बिएससी नर्सिङ पढाइ शुरु नभए पनि पूर्वाधार तयार भए अर्को ५ महिनामा शुरु हुन सक्ने बताउनु भयो । अर्को वर्ष एममबिबिएस पढाइ होला त भन्ने जिज्ञासामा पूर्वाधार निर्माणमा भर पर्ने बताउनु भयो ।

उहाँले मुख्यमन्त्री तथा कुलपति, स्वास्थ्यमन्त्री तथा सहकुलपति र प्रदेश सरकारका कर्मचारीहरुबाट पनि सहयोग रहेको बताउँदै आफ्नो कार्यकालमा केही काम गर्ने योजना रहेको बताउनु भयो । भन्नुभयो, ‘सबैमा सरकारको सहयोग छ, स्वामित्व छ, नीति तथा योजना छ, काम भइरहेको छ, कतै पनि राजनीतिक पूर्वाग्रह पाइएको छैन, राखेको पनि छुइनँ ।’

उहाँले प्रतिष्ठानको १४ करोड रुपैयाँ पूर्वाधारको कामले रोकिएको, कर्मचारीको तलब पनि प्राविधिक कारणले रोकिएको र प्रतिष्ठानलाई सञ्चालन गर्न केही दिनमै स्वास्थ्य मन्त्रालयले एक करोड रुपैयाँ उपलब्ध गराउन लागेको बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button