विदेशमा अलपत्र सबै नेपालीको एक महिनाभित्र उद्धार : श्रममन्त्री यादव

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेका सबै नेपाली नागरिकलाई एक महिना भित्र उद्दार गरिसक्ने बताएका छन्।
आइतबार मात्रै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अलपत्र परेका सबैको एक महिनाभित्र उद्धार गर्न निर्देशन दिएको थियो।
सोही बैठकमा उपस्थित भएका मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिना भित्र स्वदेश ल्याउने गरी काम अगाडि बढाइएको बताए।
त्यसका लागि उडान संख्या थप्ने गरी व्यवस्थापन गरिएको पनि उनले बताए। सुरुमा दैनिक ५ सय नेपालीलाई ल्याउने भनिएकोमा पछि माग बढेपछि ८ सय ल्याउने व्यवस्था गरिएको र त्यो संख्या पनि कम भएपछि पछिल्लो समय त्यस्तो सीमा हटाएर सकेसम्म धेरै नेपालीलाई ल्याउने गरी व्यवस्था मिलाइएको बताए।
सोही अनुसार भदौ २६ गते ८ सय ३६ जना, भदौ २७ गते ८ सय ८० जना र भदौ २८ गते ८ सय ९० जना नेपालीलाई उद्दार गरी नेपाल ल्याइएको पनि मन्त्री यादवले बताए।
उनले पहिलो प्राथमिकतामा कम्पनी बन्द हुन लागेका श्रमिकहरु जसलाई कम्पनीले नै टिकट दिएको छ उनीहरुलाई र रोजगारी गुमाएर बेखर्ची भई बसेकालाई ल्याउने व्यवस्था मिलाइएको बताए।