हातहतियारसहित स्याङ्जाबाट २ जना पक्राउ

पुतलीबजार । विभिन्न हातहतियारसहित स्याङ्जा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका-७ ठुलाडिही मोहरिया छापडाँडा बस्ने भिम बहादुर ठकुरी र पुतलीबजार–७ कै ओम बहादुर हमाल विभिन्न हातहितयारसहित पक्राउ परेका हुन् ।
आइतबार दिउँसो पक्राउ परेका पुतलीबजार नगरपालिका-७ ठुलाडिही मोहरिया छापडाँडा बस्ने ठकुरीको साथबाट प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, १ थान एकनाले बाह्रबोर बन्दुक बरामद भएको छ ।
यस्तै उनको साथबाट बाह्रबोर बन्दुकको २ थान टोटा, २ थान फलामको खाली टोटा, १ थान बारुद छर्रा भरेको टोटा, ८ सय ८० ग्राम बारुद, ३३ थान फलामको छर्रा (वेरिङ) ठूलो, ६५ थान फलामको छर्रा (वेरिङ) सानो, ६८ थान केप, १ थान ग्रिस डिव्वा र १ थान फलामको पाता बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
ठकुरीको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो ।
यस्तै, पुतलीबजार नगरपालिका-७ मोहरिया बस्ने ओम बहादुर हमाललाई लोड गरी राखेको एकनाले भरुवा बन्दुक, १ थान खाली एकनाले भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले हमालको साथबाट ८ सय ८० ग्राम बारुद, ४८ थान पाते पटका जस्तो देखिने बस्तु, ८० थान केप र १२ थान छर्रा समेत बरामद गरिएको जानकारी दिएको छ ।
हमालको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।
पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङजाबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।