संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छ: ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्दा धेरै कुरा विचार गर्न नपाएको भन्दै संघीयता पनि सोही कारण लागू गरिएको बताएका छन्। उनले संविधान बनाउँदै गर्दा विभिन्न खालका विषाक्त विचार व्यक्त भएको, आफूहरुको काँधमा त्यतिबेला देशलाई जोगाउने जिम्मेवारी रहेको भन्दै उनले थुप्रै कुरामा विचार गरिएको भए पनि कतिपय कुरामा विचार पुर्याउन नसकिएको बताए।
‘हामीले जिम्मेवारी बहन गर्दा धेरै कुरामा समुचित ढंगले विचार पुर्याउन परिस्थिति रहेन’, सोमबार सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा संघीयताका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘अब एउटा चिज आइसकेपछि यसलाई अनवरत घोचेको घोच्यै गर्ने, आलोचना गरेको गर्यै गर्ने होइन, एक तहसम्म ‘अनेस्ट्ली’ यसको कार्यान्वयन गर्ने कोसिस गर्नुपर्छ।’
ओलीले संघीयताका कमिकमजोरी र यसमा रहेका र देखिएका विसंगतिहरु हटाउने कोसिस गर्नुपर्ने बताए। उनले संघीयतालाई आग्रहवस असफल भयो भन्न नहुने बताए। ‘यो सफल नहुने नै चिज हो भने त हामीले चाहेर पनि सफल हुँदैन न नि त। तर हामीले यसलाई असफल बनाउन चाहने कि सफल बनाउन चाहने?’, उनले भने।
उनले संघीयतालाई भर्खर स्थापना गरिएको भन्दै संविधानमा यसबारे व्यवस्था गरेको र तदनुसारका संरचना र कानुन बनाएको स्मरण गराए। ‘बनाइसक्न पाएको छैन, असफल भनेर हामी यसका विरुद्ध लाग्न थाल्यौँ भने अनि यो कसरी सफल हुन्छ त?’, उनको प्रश्न थियो।
उनले संघीयतालाई सकारात्मक ढंगले सफल बनाउने कोसिस गर्दा पनि आफ्नै परिणामले सफल भएन भने राष्ट्रिय सहमतिको आधारमा निर्णय गर्नुपर्ने बताए। उनले भने, ‘संघीयतालाई इमान्दारिताका साथ अहिलेको संविधान र अहिलेको प्रणाली जुन छ, त्यसलाई कार्यान्वयन गर्ने कोसिस गरौँ। सफल बनाउने कोसिस गरौँ। सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छ।’
उनले हिजो संविधान बनाउँदा जस्तो संविधान बनाइहाल्नुपर्ने हतारो, समयसीमाभित्र संविधान बनाउनुपर्ने हतारो वा बनाएन भने देशलाई अस्थिरतातर्फ फ्याँक्ने सम्भावना, ती कुराहरुबाट हामी जोगिनुपर्ने त्यो अवस्था आज नरहेको भन्दै संघीयताको कार्यान्वयन सुबिस्तासित गर्न सकिने बताए।