एसपीपीलाई नेपालले अस्वीकार गरेको पत्र प्राप्त भइसक्यो : अमेरिकी दुतावास

काठमाडौं । अमेरिकी दुतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको जनाएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले बताएका हुन् ।
परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबारै प्रतिनिधिसभा बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए ।
मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो । उक्त पत्राचारको सम्बन्धमा पब्लिक अफियर्स प्रमुख विल्करसनले यस्तो बताएका हुन् ।
‘हो, हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं । हामी एसपीपीमा सरकार नेपाल को निर्णयलाई बुझ्छौं र पूर्णरूपमा स्वीकार गर्छौं ।’परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि अमेरिकालाई पत्राचार गरिसकेको बताएकी छन् ।