जाँदाजाँदै कुलमानले भने– एउटै व्यक्ति सधैं नेतृत्वमा रहनुपर्छ भन्ने पक्षमा म छैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ४ वर्षे सेवा अवधि पूरा गरेर बिदा भएका कुलमान घिसिङले नेतृत्वमा सधैं एउटै व्यक्ति रहनुपर्छ भन्ने पक्षमा आफू नभएको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित बिदाइ कार्यक्रममा बोल्दै घिसिङले आफू एउटा व्यक्ति नै सधैं नेतृत्वमा रहनुपर्छ भन्ने पक्षमा नरहेको बताए ।
‘हिजो विद्युत प्राधिकरणमा को आयो, को गयो कसैलाई थाहा हुँदैन थियो । अहिले कार्यकारी निर्देशक पोस्टको चर्चा भएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्छ,’ घिसिङले बिदाई भाषणमा भने, ‘कार्यकारी निर्देशक आउने जाने हुन्छ । सधैं एउटा व्यक्ति नै नेतृत्वमा रहिरहनुपर्छ भन्ने पक्षमा म छैन । विकल्परहित कोही हुँदैन ।’