निमोनियाका कारण पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको हो ।

उनको निमोनियाका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विसंं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका उनले विसं. २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए । उनी २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन पनि भएका थिए ।

त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि पहिलो प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले न्यायालयको नेतृत्व गरेका थिए । न्यायालयमा रहँदा सिंहले अदालतका नजिरहरुको अभिलेखीकरणका २०१५ सालबाट नेपाल कानुन पत्रिकाको प्रकाशन आरम्भ गरेका थिए ।

२०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । त्यसपछि उनी कानुन, वन लगायतका मन्त्री पनि भए । २०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए ।

२०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उनी नियुक्त भएका थिए ।

अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत उनी त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बनेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button