रेल भित्रिएको हेर्न जनकपुरको रेल पटरीमा ठूलो संख्यामा सर्वसाधारण भेला

जनकपुर । नेपालको रेल आज जनकपुर आइपुग्दै छ । केहीबेरपछि जनकपुरमा रेल आइपुग्ने भएपछि स्थानीय निकै हर्षित भएका छन् ।
रेल आइपुग्ने भएपछि जनकपुरस्थित रेल पटरीको आसपास सयौं मानिस नयाँ रेल हेर्न जम्मा भएका छन् भने उच्च पदस्थ सरकारी अधिकारीहरुसमेत जनकपुर पुगेका छन् ।
रेल नेपाल भित्रिएको हेर्न पटरी आसपास पुगेका स्थानीहरुले रेल आउने भएपछि निकै उत्साह थपिएको जनाएका छन् । जकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४का अध्यक्ष सुदर्शन सिंहले आजको दिन नेपालका लागि ऐतिहासिक दिन भएको जनाएका छन् ।
जयनगर र जनकपुरको दूरी २९ किलोमिटर रहेको छ । नेपाल रेलवेको दुई वगी र चार वटा इन्जिन जनकपुर धाम आइपुग्न लागेको हो । रेल नेपालको राष्ट्रिय झण्डाको रंग रातो र निलोसँग मिलाइएको छ ।
एउटा इन्जिन र चार वटा बोगीसहितको दुई सेट रेल शुक्रवार अपराह्नसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ ।
नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।
६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दसैँ९तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो ।
ट्रायलका लागि शुक्रवार जनकपुर आएर फर्किने रेल एक महिनाभित्रै नियमित सेवा दिन थाल्ने रेलवेका अधिकारीहरूले बताएका छन् ।