सिन्धुपाल्चोक–१ मा गठबन्धन र एमाले प्रतिस्पर्धामा

चित्र मिजार, रातोपाटीन्युज । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा गठबन्धन दल, नेकपा एमालेलगायतका दल र स्वतन्त्र गरी १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभा-१ मा सत्तागठबन्धन दलबाट नेकपा(माओबादी केन्द्र) का माधव सापकोटा उम्मेदवार छन् ।

नेकपा एमालेबाट सरेश नेपाल, कृष्णबहादुर ठकुरी नेपाल कम्युनिष्ट पार्टी(माक्र्सबादी लेनिनबादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ग्याल्जेन शेर्पा, जनता समाजबादी पार्टी नेपालबाट डिबीसिंह लामा, मंगोल नेशनल अर्गानाइजेशन पार्टीबाट दावा लामा प्रतिनिधि सभा-१ मा उम्मेदवार छन् ।

त्यस्तै दिनेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी, नारायण पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी, बिष्णुप्रसाद पौडेल स्वतन्त्र, मुकुन्द श्रेष्ठ स्वतन्त्र, रामकुमार जिसी स्वतन्त्र, बिर बहादुर तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सोमनोर्बु शेर्पा आमूल परिर्वतन पार्टी र नेपाल मजदुर किसान पार्टीबाट हरिलक्ष्मी दनेखु प्रतिनिधि सभा–१ को उम्मेदवार रहेका छन् ।

गठबन्धन र एमाले प्रतिस्पर्धामा,
प्रतिनिधि सभा–१ मा नेपाली कांग्रेस, नेकपा(माओबादी केन्द्र), समाजबादी, लोसपा र जनमोर्चा गठबन्धनबाट नेकपा (माओबादी केन्द्र)का माधव सापकोटा र नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपाल बीच प्रतिस्पर्धा हुने देखिन्छ ।
२०७९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा दलका मतभारलाई आधार मान्ने हे भने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को ५४ वडाबाट नेपाली कांग्रेसले ३४,९६१ मत प्राप्त गरेको छ । एमालेले २६,५५९ मत, नेकपा(माओबादी केन्द्र) ले १९,३३४ मत, समाजबादी २,३९१ मत र राप्रपाले १,२११ मत प्राप्त गरेको थियो ।

गठबन्धन दलको कांग्रेस र नेकपा(माओबादी केन्द्र) को मत जोड गर्दा ५६,६८६ मत रहेको छ भने मुख्य प्रतिस्पर्धी एमालेका सरेश नेपालको २६,५५९ मत रहेको छ । मुख्य प्रतिस्पर्धी दल एमाले भन्दा गठबन्धनका उम्मेदवार माधव सापकोटाको ३०,१२७ मत बढी छ । अन्य साना दलका मत उल्लेख्य छैन् । यसरी हेर्दा गठबन्धन दलका उम्मेदवार माधव सापकोटा प्रतिनिधि सभा–१ मा बिजयी हुने देखिन्छ ।

सापकोटा नयाँ र नेपाल पुराना नेता
४१ बर्षीय गठबन्धनका उम्मेदवार माधव सापकोटा जनप्रतिनिधि र प्रतिनिधि सभाका लागि बिल्कुलै नयाँ अनुहार हुन् । जनप्रतिनिधि भएर जनताको काम गरेको उनीसँग अहिले सम्म कुनै अनुभव छैन् । माधव सापकोटा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाका सहोदर भतिजा हुन् ।

२०५२ सालमा माधव जनयुद्धमा भूमिगत भएका थिए । १३ बर्षको उमेरमा अर्थात २०५१ सालमा अखिल क्रान्तिकारीको बाल इकाई समितिको संगठित सदस्य, क्षेत्रीय समिति सदस्य भएका सापकोटा २०५६ सालमा माओबादी जनयुद्धमा भूमिगत भएका थिए । २०५८ सालमा जनमूक्ति सेनाको स्क्वाड कमाण्डर, ०६१ सालमा प्लाटुन कमाण्डर, कम्पनी सहकमिसार, २०६१ मा कम्पनी कमिसार ०६२ मा ११ औं बटालियन कमान्ड बनेर माधवले युद्धमोर्चा सम्हालेका थिए ।

२०६३ मा चौतारा आक्रमणका कमान्डर रहेका माधव उक्त आक्रमणमा गम्भीर घाइते भएका थिए । २०५६ सालमा ताम्सालिङ राज्य समिति सचिवालय सदस्य एवम जिल्ला सहसेक्रेटरी, ०७१ जिल्ला पार्टी अध्यक्ष, ०७३ सालमा पार्टी केन्द्रीय सदस्य, ०७५ सालमा एमाले र माओबादी एकता हुदाँ नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज, ०७९ सालमा जिल्ला पार्टी इन्चार्ज र पोलिटब्यूरो सदस्य भएका छन् । अहिले सापकोटा युवा माझ लोकप्रिय छन् ।

एमालेका पूराना र केन्द्रीय सदस्य समेत रहेका सरेश नेपाल २०७४ सालमा भारी मतले बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ अहिले सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ बाट प्रत्यक्ष उम्मेदवार हुनुहन्छ । नेपालले २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साविक पांग्रटारको गाबिस अध्यक्षमा निर्वाचित भई तत्कालीन जिल्ला उपसभापति बिजयी हुनु भएको थियो । नेपाल २०५४ सालमा पुन:पांग्रटारको गाबिस अध्यक्ष जितेर जिल्ला बिकास समितिको सभापतिमा बिजय हुनु भएको थियो । जिल्ला बिकास समितिको नेतृत्व सम्हालेर नेपालले जिल्लाबासीका जनजीविका र बिकास निमार्ण काम गरेर जिल्लाबासीको मन जित्नु भएको थियो ।

२०४० सालमा त्रिपुरासुन्दरी गाउँपालिका–४ मा पञ्चायती शासनबिरुद्धको कम्युनिष्ट बिद्रोहको चर्चित हत्याकाण्ड घटनामा बिरोध गरेबापत सरेशले २०४३ सालसम्म जेल जीवन बिताउनु भएको थियो । २०४७ सालमा एमाले जिल्ला कमिटिको पार्टी प्रमुख नेतृत्व सम्हालेका नेपालले सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रीय सदस्य भई सिन्धुपाल्चोकमा जनताका मन जितेका छन् । कृषि बिकास बैंकको बोर्ड सदस्य, पशुपति क्षेत्र बिकास कोषको सदस्य सचिव भई नेपालले काम गर्नु भएको छ ।

२०७४ सालको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बागमती प्रदेश सदस्यमा निर्वाचित भई नेपालले उद्योग पर्यटन वन तथा वातावारण मन्त्री भएर सिन्धुपाल्चोकमा उल्लेखनीय काम गनु भएको छ । बागमती प्रदेशको अर्थ तथा बिकास समितिको सभापति भएका नेपालले यो पटकको प्रतिनिधि सभामा जितेर जनताको काम गर्ने जानकारी दिनु भएको छ । एमालेले नेपाललाई सर्वसहमत उम्मेदवार बनाएको थियो । नेकपा एमालेको केन्द्रीय लेखा परीक्षण आयोग सदस्य बनेर सक्रिय राजनीतमा तल्लीन रहदैं आएका छन् । सरेश नेपाल एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा वलीका निकटका हुन् ।

प्रतिनिधि सभा–१ को प्रदेश सभा ‘क’ मा गठबन्धन अगाडी
निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ गठबन्धनबाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारी र एमालेका युद्धबिक्रम लामा (डिबी) मुख्य प्रतिस्पर्धी रहेका छन् । स्थानीय चुनावमा उक्त प्रदेश सभामा कांग्रेसले १४,७५५ मत, नेकपा(माओबादी केन्द्र) ले ४,७८९ र समाजबादीको ८९१ मत रहेको छ । एमालेको १०,३६६ र राप्रपाको ७८९ मत रहेको छ । गठबन्धनको मत जोडर्दा २०,४३५ मत देखिन्छ । एमालेका उम्मेदवार युद्धबिक्रमको भन्दा गठबन्धनकी मसिना खड्का मत १०,०६९ बढी छ । अन्य साना दलका मत उल्लेख्य छैन् ।

प्रतिनिधि सभा–१ को प्रदेश सभा ‘ख’ मा पनि गठबन्धन अगाडी
यस्तै प्रतिनिधि सभा–१ को ‘ख’ प्रदेश सभामा गठबन्धनका उम्मेदवार सरल सहयात्री पौडेल र एमालेका होमनारायण श्रेष्ठ मुख्य प्रतिस्पर्धी रहेका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले २०,२०६ मत, नेकपा(माओबादी केन्द्र)ले १४,५५४ मत, समाजबादीले १५०० मत , एमालेले १६,१९३ र राप्रपाले ४२२ मत ल्याएको थियो ।

कांग्रेस, नेकपा(माओबादी केन्द्र), समाजबादीको मतलाई जोड्दा गठबन्धन उम्मेदवार सरल सहयात्री पौडेलको मत ३६,२६० रहेको छ । मुख्य प्रतिस्पर्धी एमालेका होमनारायणको मत भन्दा गठबन्धनका सरलको २०,०६७ मत बढी छ । गठबन्धनको जित हुने देखिन्छ । साना र स्वतन्त्रका मतको उल्लेख्य मत छैन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button