ललितपुरमा ५६७ कक्षाकोठा निर्माण

ललितपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा शाखाले जिल्लामा हालसम्म ५६७ कक्षाकोठा निर्माण सम्पन्न भएका जनाएको छ ।
२०७२ को गोरखा भूकम्पले क्षति पुर्याएका कूल एक हजार ४८३ कक्षाकोठामध्ये हालसम्म करिब एकतिहाइ मात्र कक्षाकोठा निर्माण सम्पन्न भएका शिक्षा शाखा प्रमुख गुणराज पोखरेलले बताए । उनले, “ललितपुरमा पुनर्निर्माण गर्नुपर्ने कूल १७१ विद्यालय भवनका एक हजार ४८३ कक्षाकोठा थिए, हालसम्म ११३ विद्यालय भवनका ५६७ कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन्, ललितपुरमा पूर्ण क्षति भएका कक्षाकोठा ५०, अधिक क्षति भएका ७९५ र सामान्य क्षति भएका कक्षाकोठा ६३८ थिए ।”
अहिले ४० विद्यालयका २९४ कक्षाकोठा केही सम्पन्न हुने त केही पारम्भिक चरणमा निर्माणाधीन अवस्थामा रहेका पोखरेलले जानकारी दिए । यस आवको अन्त्यसम्म १५३ विद्यालयका ८६१ कक्षाकोठा निर्माण गरिसक्ने चरणमा अघि बढेको शिक्षा शाखा इन्जिनियर इन्द्रलाल महर्जनले बताए । उनले भने, “हामीले विद्यालयका कक्षाकोठाका अतिरिक्त पिउनेपानी र शौचालय निर्माण अनिवार्य छ भनी गत आव ०७५/७६ मा ४० शौचालयको कोटा प्राप्त गरी निर्माणाधीन भइरहेका छन् ।” यस वर्षको वार्षिक कार्यक्रममा ४२ विद्यालय र ४५ शौचालय निर्माणका लागि बजेट आएको छ ।
बजेट अभावका कारण यस वर्ष कुनै पनि नयाँ काम गर्न नसकेको र भर्खरै थप आठ शौचालय र १० पिउनेपानीको कोटा माग भएको उनको भनाइ छ । प्राधिकरण र शिक्षा शाखाले गरेको अनुमानअनुसार यस वर्षको चैत अन्त्यसम्ममा यो वर्षमा परेका कोटा लिनसक्ने आशावादी रहेको महर्जनले जानकारी दिए ।
जिल्लाका २७ विद्यालय न्यून विद्यार्थी तथा पर्याप्त जग्गा अभावका कारण बन्न नसक्ने अवस्थामा रहेका शिक्षा शाखाले जनाएको छ । अन्य थप १३ विद्यालय जग्गा नभएका कारण निर्माण हुन नसक्ने अवस्थामा पुगेका छन् । यी विद्यालय भूकम्पअघि एक टहरोका रूपमा निर्माण भई सञ्चालनमा रहेका बताइएको छ । यसैगरी प्राधिकरणका अनुसार ललितपुरमा गैरसरकारी संस्थाबाट निर्माण भएका विद्यालयका सङ्ख्या ८२ र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट निर्माण भएका विद्यालयको सङ्ख्या १४४ रहेको छ । –रासस