आज मात्रै २ हजार बढी संक्रमित थपिए, संक्रिमतको संख्या ६१ हजार नाघ्यो

काठमाडौं । नेपालमा आज अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ४ सय ५८ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको गौतमले बताए ।
नेपालमा गत माघमा पहिलोपटक कोरोना भाइरसको संक्रमित भेटिएपछि हालसम्म ८ लाख ९४ हजार ३ सय ७३ जनाको आरटी पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।
पीसीआर परीक्षण गरिएकामध्ये हालसम्म ६१ हजार ५ सय ९१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएकामध्ये ४३ हजार ८ सय २० जना संक्रमण मुक्त भइसकेका छन् भने ३ सय ९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै, देशभर हाल १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित छन् भने कोरोना संक्रमणको आशंकामा ७ हजार ७ सय ३७ जना देशभरका विभिन्न स्थानमा गरी क्वारेन्टाइनमा रहेका छन् ।