नयाँ दलको उपस्थितिले ठूला पार्टीलाई ‘रि-थिंक’गर्ने अवस्थामा पुर्यायो : विशाल भट्टराई

खोटाङ- नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले रातारात उम्रिएका नयाँ दलको उपस्थितिले ठूला पार्टीलाई ‘रि-थिंक’गर्ने अवस्थामा पुर्याएको बताएका छन् ।
खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका रामकुमार राईबाट दुई हजार ६६९ मतले पराजय बेहोरेका प्रत्यासी भट्टराईले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै निर्वाचन परिणामले ठूला दल सामु ठूलो चुनौती खडा गरिदिएको बताएका हुन् ।
‘निर्वाचन परिणामले ठूला दललाई ठूलो चुनौती खडा गरिदिएको छ । मुलुकलाई केही महत्वपूर्ण सन्देश दिएको छ,’ भट्टराईले भने, ‘रातारात बनेका र रातारात उम्रिएका शक्तीहरु यो निर्वाचनमा राम्रै सिट संख्या सहित उपस्थित हुने कुराले एकपल्ट राष्ट्रिय राजनीतिमा ठूला पार्टीले आफुलाई रि–थिंक गर्नुपर्ने ठाउँमा पुर्याएको छ ।’
एमालेका प्रमुख सचेतक रहिसकेका भट्टराईले एमालेलाई दोश्रोबाट तेश्रो स्थानमा झार्ने र सत्ता कब्जा गर्ने उद्देश्यमा गठबन्धन दल पराजित भएको उल्लेख गरे । निर्वाचन परिणाम अनुसार गठबन्धनको एकल बहुमत प्राप्त हुने अवस्था नदेखिएकाले गठबन्धन दलले राखेको उद्देश्य पुरा नभएको भट्टराईको टिप्पणी थियो ।