राष्ट्र बैंकले २० अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्रि गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै बिल विक्रीको लागि बोल–कबोल खुलाएको हो।
ट्रेजरी बिल बोल–कबोलका आधारमा असोज ५ गते अर्थात आज दिउँसो ३ बजे विक्री गरिने छ भने बिलको निष्कासन भोली ६ गते मंगलवार गरिने छ। राष्ट्र बैंकले जारि गर्न लागेका ट्रेजरी बिल ९१ दिन, १८२ दिन र ३६५ दिन अवधिको लागि रहेको छ ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको १४ अर्ब ३ करोड, १८२ दिन अवधिको ४ अर्ब ३० करोड रुपैयाँ र ३६५ दिन अवधिको लागि २ अर्ब रुपैयाँको सरकारी ऋणपत्र जारी गर्न लागेको छ । उक्त ऋणपत्रमा आवेदन दिन चाहनेले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् ।
९१ दिन अवधिको पुस ७ गते, १८२ दिन अवधिको चैत १० गते, र ३६५ दिन अवधिको सरकारी ऋणपत्र २०७८ साल असोज ६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।