निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरूको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन् । उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरूको सम्मान एवं बधाईका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले नेपालको कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाएको र राष्ट्रिय मूलधारका रुपमा स्थापित गरेको धारणा राखे ।
हालै सम्पन्न निर्वाचनमा केही स्थानमा कमी कमजोरी पनि देखिएका बताउँदै आगामी दिनमा सुधार गरेर लोकतान्त्रिक प्रणालीको सुधारमा लागिपर्नुपर्नेमा उनले जोड दिए। अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित नभएको र आगामी दिनमा सुखी नेपाली र समृद्ध नेपाल निर्माण निर्माणका लागि आत्मविश्वासका साथ अगाडि बढ्ने पनि बताए ।