बास्कोटा प्रकरणमा छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी

काठमाडौँ – निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको भन्दै उजुरी दर्ता भएको छ।
प्रिन्टिङ प्रेस खरिदका क्रममा घुस मागेको अडियो सार्वजनिक भएपछि बिहीबार पदबाट राजीनामा दिएका बास्कोटा विरुद्ध बिहीबार दुईवटा उजुरी दर्ता भएका हुन्। बास्कोटाविरुद्ध सुनसरी प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले उजुरी दिएका हुन्।
त्यसअघि प्रेमबहादुर शाही र आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, बास्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार नै उजुरी दिएका थिए।
बास्कोटाले स्वीटरल्याण्डका प्रतिनिधि बताउने विजयप्रकाश मिश्रसँग ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका छन्। उनीमाथि छानबिन हुनुपर्ने आवाज उठिरहेका बेला आइतार दुईवटा उजुरी परेको हो।