स्थापनाको दोश्रो बर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

काठमाडौं । “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंकको दोश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिवार काठमाण्डौको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा एक समारोहबीच दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
बार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा शिक्षाबिद उमेश श्रेष्ठले सरकारले गर्नुपर्ने काम खाद्य बैंकले गरेको बताए ।
उनले भने– “खाद्य बैंकले सर्हानिय कार्य थालेको छ । खाद्य सुरक्षाको विषयमा सरकारले ध्यान दिन नसके पनि खाद्य बैंकले पहल कदमी लिएकोले यस संस्थाले व्यवस्थापकीय रुपमा सवल भएर अघि बढ्नसके अझ ठुलो उपलब्धी हासिल गर्ने देखेको छु ।”
पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाहरुले विकृत बनाएको र उनीहरु मात्रै धनी भएकोले कृषि क्षेत्रको लागि भण्डारणको आवश्यकता रहेको बताए ।
साधारण सभामा बोल्दै राष्ट्रिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफुहरुको सपनाले मुर्तरुप लिन थालेको बताए। उनले २ बर्षको दौरानमै संस्था ३० लाख नाफामा गएको र आगामी बर्ष त्यसलाई अझै रफतारमा लगेर शेयर सदस्यहरुको मन जित्ने बताए ।
उनले भने “शेयर सदस्यहरुको लगानी सुरक्षा गर्ने, सीड मनिबाट बैंकलाई छोटो समयमा नै सवल बनाउने कुरामा आफुहरु सफल भएको बताए ।रैथाले बालीहरु समाप्त हुँदै गएको, बजारमा पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उनले बताए ।
उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए । त्यसैगरी अध्यक्ष उप्रेतीले खाद्य बैंकले आफना कृषि उत्पादन ४ वटा प्रदेश अन्र्तगतको २३ ओटा जिल्लाबाट गरिरहेको र आगामी दिनहरुमा ७ वटै प्रदेशबाट अर्गानिक कृषि उपज उत्पादनमा खाद्य बैंक लागि पर्ने बताएका छन् ।
खाद्य बैंकको साधारण सभामा बैंकका सल्लाकार दुर्गा बहादुर थापा, मधेश प्रदेशबाट पूर्व सांसद जयराम दहाल, काँग्रेस नेतृ सिर्जनासिंह, गण्डकी प्रदेशबाट योगेन्द्र नारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा.डा जिवनाथ धिताललगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने अभिमत प्रकट गर्दै राष्ट्रिय खाद्य बैंकले चालेको कदमको प्रशंसा गरेका थिए ।
साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष शंकर नाथ उप्रेतिले गरेका थिए भने स्वागत मन्तब्य प्रा.डा मोहन प्रसाद पन्थीले गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि पत्रकार अशिम सापकोटाले गरेका थिए ।