सरकारले किसानलाई थप रासायनिक मल उपलब्ध गराउने

जनकपुरधाम । सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ ।

मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा धनुषालाई थप एक हजार ७९ मेट्रिक टन युरिया मल उपलब्ध गराउने भएपछि हिउँदे बाली लगाएका किसानलाई राहत हुने भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त प्रमुख रविकुमार केसरीले थप युरिया मल प्राप्त हुने र मल ल्याउन यसै महिनामै बोलपत्र आह्वानको तयारी भइरहेको जानकारी दिए ।

सम्भवतः यही माघ १८ मा बोलपत्र आह्वान हुने र हिउँदे बाली उत्पादक किसान लाभान्वित हुने गरी चाँडै मल ल्याउन पहल भइरहेको उनको भनाइ छ । ‘किसानले मलको माग गरिरहेकाले हामी दबाबमा थियौँ’ केशरीले भने, ‘अब बाँकी प्रक्रिया पूरा गरेर छिट्टै मल उपलब्ध गराउँछौँ ।’

कूल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा ५३ हजार आठ सय २५ हेक्टरमा धान र ३६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती भइरहेको कृषि ज्ञान केन्द्र धनुषाको तथ्याङ्क छ । पर्याप्त र समयमै मल आपूर्ति नहुँदा देशभरीमा जस्तै यहाँका किसानले पनि समस्या झेल्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button