शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरे मात्र विकास र समृद्धिको जग बसाल्न सक्छौँ : प्रधानमन्त्री

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरे मात्र विकास र समृद्धिको जग बसाल्न सकिने बताएका छन् ।

शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताए ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो,’ उनले भने, ‘शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ। तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो । गुणस्तरका निम्ति शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी हुन्छ । त्यसका लागि म तपाईहरू सबैमा विशेष अपील गर्दछु,’ ।

‘सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ । दु:ख र सुखीमा म तपाईहरूको साथसाथै छु,’ प्रधानमन्त्रीले भने, ‘जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनास लगायतका सबै पीडामा म तपाईहरूसँग सँगै छु । म तपाईहरूसँग ऐक्यवद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ। आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईहरूकै साथमा हुनेछ ।’ प्रधानमन्त्रीले भने ।

कार्यक्रममा प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा सांसद माधव सापकोटा, प्रदेश सांसद सरल सहयात्री, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग लगायतले सम्बोधन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button