खुकुरी प्रहार गरी रौतहटमा महिलाको हत्या
ज्यान मार्ने धम्की आउँदा समेत प्रहरीले वास्ता गरेन

रौतहट । ज्यान मार्ने धम्की आएको भन्ने सूचना प्राप्त हुँदा समेत स्थानीय प्रहरीले बेवास्ता गर्दा रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलीमा १ महिलाको मृत्यु भएको छ ।
देवाही गोनाही नगरपालिका–५ टिकुलीमा केही व्यक्तिले खुकुरी तथा भालाले आक्रमण गरी स्थानीय जगरामी देवीको हत्या गरेका छन् ।
देवाही गोनाही नगरपालिका–५ टिकुली महेश तिवारीको दम्पत्तिमाथि आक्रमण गरिएकोमा उनकी पत्नी जगरामी देवीको मृत्यु भएको हो ।
शुक्रबार साँझ ८ बजेतिर घर नजिकै गफ गरेर बसिरहेको अवस्थामा खुकुरी र खुँडा बोकेर आएका व्यक्तिको समूहले महेश तिवारीलाई ज्यान मार्ने धम्की दिएको थियो ।
आफैंले चिनेका व्यक्ति समेतको समूहले ज्यान मार्ने धम्की दिएपछि महेशले तत्काल ईलाका प्रहरी कार्यालय देवाही गोनाहीमा सम्पर्क गरेर आफूलाई ज्यान मार्ने धम्की आएको बताएका थिए ।
तर, प्रहरीले उनको सूचनाप्रति विश्वास गरेन । धम्की दिएको आधा घण्टापछि पुनः फर्किएर आएको उक्त समूहले महेशमाथि खुकुरी र खुँडा प्रहार गर्न खोज्यो ।
पतिलाई जोजाउनका लागि आक्रमणकारीविरुद्ध उत्रिएकी महेशकी पत्नीको धारिलो हतियार लागेर मृत्यु भयो । घाइते भएका महेशको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।
आक्रमण सूचना पाएर गाउँलेले होहल्ला गरेपछि आक्रमणकारीहरु भागेका थिए ।
गाउँमा धारिलो हतियार प्रहारबाट महिलाको हत्या भएको सूचना पाएपछि मात्रै प्रहरी घटनास्थलमा पुग्यो ।
प्रहरीले हत्यामा संलग्न मध्येका स्थानीय बलि मुखियालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार साँझ स्थानीय प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित ४ जना मिलेर महेशमाथि आक्रमण गरेका थिए ।
स्थानीयका अनुसार गत असारमा स्थानीय दुवे र मुखिया परिवारबीच बाटोको निकास निकाल्ने विषयमा विवाद भएको थियो । बाटो निकासको विषय सुल्झन नसकेर अदालतसम्म पुगेको थियो ।
अदालतमा मुद्दा दर्ता हुँदा दुवे परिवारको तर्फबाट महेश तिवारी साक्षी बसेका थिए ।
आफूविरुद्धको मुद्दामा साक्षी बसेको विषयलाई लिएर मुखिया परिवारले महेशलाई पटक पटक धम्की समेत दिँदै आएको थियो । सोही कारण शुक्रबार हत्यासम्मको घटना भएको हुन सक्ने स्थानीयको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाशले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए ।