आईसीसी विश्वकप लिग-२ : नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र घरेलु टोली यूएई भिड्ने भएका छन्। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाल र यूएईबीचको खेल ११:४५ बजे सुरु हुनेछ।
आजको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि मैदानमा उत्रने भएका छन्। सन्दीपले मौसम ढकालको स्थान लिएको क्यानले जनाएको छ। सन्दिपलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसँगै उनी हिजै यूएई पुगिसकेका छन्।
लिग-२ को पछिल्ला ५ खेलमा अपराजित रहेको नेपाली टोली उच्च मनोबलमा छ। नेपालले यसअघि घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिज क्लीन स्वीप गरेको थियो । पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टोलीले सोही प्रदर्शनलाई निरन्तरता दिने प्रयासमा हुनेछ।
यसअघि युएई सिरिजको पहिलो खेलमा नेपालले पपुवान्यूगिनीलाई ४ विकेटले हराएको थियो। नेपालले लिग-२ को शीर्ष ५ टोलीमा रहेर ओडीआई मान्यता जोगाउनका लागि कम्तीमा ४ खेलमा जित्न आवश्यक छ। यस्तै, जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेल्नका लागि नेपालले बाँकी ७ मध्ये ६ मा जित्नैपर्ने हुन्छ।
यता, युएई भने नेपालसँगको खेलअघि पीएनजीसँग १३१ रनले पराजित भएको थियो। पपुवा न्युगिनीसँगको फराकिलो हारले युएईलाई थप दबाब छ। यदि आज नेपालसँग पराजित भएमा उसको ओडिआई मान्यतासमेत जोखिममा पर्नेछ। शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न युएईले पनि अब ७ मध्ये ६ खेल जित्नुपर्ने हुन्छ। शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन कम्तिमा ४ खेलमा जित्न आवश्यक छ।