कात्तिक लागेपछि मात्र दशैँको अग्रिम टिकट बुकिङ हुने

काठमाडौं । लकडाउनका कारण बन्द रहेको आन्तरिक हवाई उडान र लामो दूरीको यातायात लामो समयपछि खुलेको छ।
आन्तरिक हवाई उडानमा पूर्ण क्षमतामा यात्रु ओसार पोसार गर्न अनुमति दिइएको छ भने लामो दूरीको बसमा आधा मात्रै यात्रु बोकेर ५० प्रतिशत भाडा बढी असुल्न अनुमति दिइएको छ।
सार्वजनिक बस व्यवसायीहरुले आफुहरुले पनि पूर्ण सिट क्षमतामा बस चलाउनु पाउनुपर्ने माग गर्दै आएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने माग गरेको छ।
आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले बताए।
यस्तै व्यवसायीहरुले लामो तथा मध्यम दूरीको यातायातका लागि दशैँको अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने तयारी गरेका छन् ।
हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने महासंघले जनाएको छ ।
क्याम्पस तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासंघले जनाएको छ।